काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा शुक्रबार सुनको मूल्य बढेको छ । मुद्रास्फीति तथा उच्च ब्याजदरसम्बन्धी चिन्ता केही कम हुँदै जाँदा सुनको मूल्य बढ्न पुगेको विश्लेषण गरिएको छ।
आज सुनको मूल्य ०.४९ प्रतिशत अर्थात २३.४२ डलरले बढेर प्रतिऔंस ४ हजार ७२२ डलर पुगेको छ। यससँगै सुनले यो साता हालसम्म करिब २.३ प्रतिशतको वृद्धि हासिल गरेको छ।
यद्यपि अमेरिका र इरानबीच बिहीबार पुनः सैन्य आक्रमण भएको छ । जसलाई महिनादिनदेखि जारी युद्धविरामको सबैभन्दा गम्भीर परीक्षणका रूपमा हेरिएको छ।
फेब्रुअरी अन्त्यतिर युद्ध सुरु भएयता सुनको मूल्य १० प्रतिशतभन्दा बढीले घटेको थियो। युद्धका कारण कच्चा तेलको मूल्य बढ्दा मुद्रास्फीति चर्किने र त्यसले ब्याजदर उच्च राख्न दबाब दिने सम्भावना बढेको थियो। उच्च ब्याजदरले ब्याज नआउने सम्पत्ति मानिने सुनको आकर्षण घटाउने गर्दछ।
बजार अहिले अमेरिकाको मासिक रोजगारी प्रतिवेदनको प्रतीक्षामा छ, जसले अमेरिकी केन्द्रीय बैंक (फेडरल रिजर्भ) को आगामी मौद्रिक नीतिबारे संकेत दिने अपेक्षा गरिएको छ।
यस्तै आज चाँदीको मूल्य पनि ०.२४ प्रतिशतले बढेर प्रतिऔंस ७९.८८ डलर कायम भएको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।