सोमबार, श्रावण १८,२०८३ 02:30:00
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 02:30:00
Bizshala
Global IME Bank Limited

लगानीकर्ताको अपेक्षा: पूँजीगत लाभकरलाई अन्तिम करको मान्यता र प्रविधिमैत्री नेप्से पुनर्संरचना

लगानीकर्ताको अपेक्षा: पूँजीगत लाभकरलाई अन्तिम करको मान्यता र प्रविधिमैत्री नेप्से पुनर्संरचना
New Office

तारा फुल्लेल

काठमाण्डौ । नेपालको पूँजीबजार पछिल्ला वर्षहरूमा आम नागरिकको आकर्षणको केन्द्र बनेको भएतापनि अझै पनि नीतिगत अस्थिरता, कमजोर कार्यान्वयन, सीमित उपकरण र नियामकीय अस्पष्टताका कारण अपेक्षित विश्वास र स्थायित्व निर्माण हुन सकेको छैन । विगतदेखि नै लगानीकर्ताहरूले उठाउँदै आएका धेरै सुझावहरू अझै कार्यान्वयनको पर्खाइमा छन । विशेष गरी नीतिगत स्थायित्व, कर प्रणालीको स्पष्टता, प्रविधिमैत्री कारोबार प्रणाली, संस्थागत सुधार तथा बजार विस्तारका विषयहरू आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटले सम्बोधन गर्नुपर्ने प्रमुख अपेक्षाका रूपमा लगानीकर्ताहरूले पर्खिरहेका छन ।

लगानीकर्ताको सबैभन्दा ठूलो अपेक्षा हाल कायम रहेको पूँजीगत लाभकरलाई अन्तिम कर (फाइनल ट्याक्स) को रूपमा स्पष्ट रूपमा कानूनी मान्यता दिनु हो । बारम्बार करसम्बन्धी अन्योल सिर्जना हुँदा लगानीकर्तामा असुरक्षा बढ्ने गरेको छ । यदि सरकारले दीर्घकालीन नीतिगत स्थिरता सहित पूँजिगत लाभकरलाई अन्तिम करको रूपमा स्थापित गर्यो भने यसले बजारमा विश्वसनीयता बढाउनुका साथै दीर्घकालीन लगानी संस्कृतिलाई प्रोत्साहन गर्नेछ । साथै, दीर्घकालीन लगानीकर्तालाई करमा थप सहुलियत दिने व्यवस्था भए बजार अझ परिपक्व बन्न सक्छ ।

त्यसैगरी, नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को पुनर्संरचना आजको आवश्यकता हो । पूर्ण रूपमा व्यावसायिक, प्रतिस्पर्धी र प्रविधिमैत्री संरचनामा नेप्सेलाई रूपान्तरण गर्न आवश्यक छ । ब्रोकर संख्या वृद्धि, नयाँ स्टक एक्सचेञ्जको प्रवेश, आधुनिक ट्रेडिङ प्रणाली, टि प्लस टु भन्दा छिटो सेटलमेन्ट व्यवस्था, रियल टाइम निगरानी प्रणाली तथा लगानीकर्तामैत्री डिजिटल सेवाले बजारलाई थप पारदर्शी र प्रभावकारी बनाउन सक्छ । साथै, बजारमा हुने चलखेल, इनसाइडर ट्रेडिङ र कृत्रिम कारोबार नियन्त्रणका लागि सेबोनलाई अझ स्वायत्त, प्रविधिसम्पन्न र उत्तरदायी बनाउनुपर्ने आवश्यकता छ ।

बजार विस्तारका लागि सामूहिक लगानी कोष, डेरिभेटिभ मार्केट, कमोडिटी एक्सचेञ्ज, एसएमई प्लेटफर्म, विदेशी नेपाली (एनआरएन) तथा संस्थागत लगानीकर्तालाई सहज प्रवेश जस्ता विषयहरू पनि बजेटमार्फत अगाडि बढाइनुपर्छ । बैंकको ब्याजदर–तरलता र पूँजीबजारबीच सन्तुलित नीति ल्याउन सके बजारमा स्थायित्व कायम रहन मद्दत पुग्नेछ । साथै, सूचीकृत कम्पनीहरूलाई पारदर्शी वित्तीय विवरण, समयमै सूचना प्रकाशन र सुशासन पालनामा कडाइ गरिनुपर्छ ।

लगानीकर्ताहरूको अपेक्षा केवल बजार बढ्नु मात्र होइन, सुरक्षित, विश्वसनीय र दीर्घकालीन रूपमा टिकाउ वातावरण निर्माण हुनु हो । जेष्ठ १५ गते प्रस्तुत हुने बजेटले यदि पुँजिबजारलाई अर्थतन्त्रको महत्वपूर्ण आधार क्षेत्रका रूपमा स्वीकार गर्दै स्पष्ट नीति, संस्थागत सुधार र लगानीकर्तामैत्री कार्यक्रमहरू अघि सार्न सक्यो भने यसले बजारमा नयाँ उत्साह, आकर्षण र विश्वास सिर्जना गर्नेछ । सकारात्मक सोंच, स्थिर नीति र प्रभावकारी कार्यान्वयनले मात्रै नेपालको पूँजीबजारलाई परिपक्व र विश्वसनीय दिशातर्फ अगाडि बढाउन सक्छ ।

(फुल्लेल सेयर लगानीकर्ता संघ नेपालका अध्यक्ष हुन् ।) 

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.