काठमाण्डौ । बिहीबार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य वृद्धि भएको छ। अमेरिकी डलर कमजोर हुनु र कच्चा तेलको मूल्य घट्नु जस्ता कारण लगानीकर्ताहरूको ध्यान सुरक्षित सम्पत्तितर्फ मोडिँदा सुनको मूल्य उकालो लागेको हो।
आज सुनको मूल्य ०.६० प्रतिशतले बढ्दै प्रतिऔंस ४ हजार ४६५ डलर पुगेको छ । विश्लेषकहरूका अनुसार डलर कमजोर हुँदा अन्य मुद्रामा कारोबार गर्ने लगानीकर्ताका लागि सुन सस्तो पर्ने भएकाले माग बढेको हो। साथै, कच्चा तेलको मूल्यमा आएको गिरावटले मुद्रास्फीति दबाब घटाउने अपेक्षा गरिएको छ, जसले सुनको मूल्य थप बढेको छ ।
विश्लेषकहरुका अनुसार सुनको मूल्य अहिले मुख्य रूपमा तेल र डलरको चालमा निर्भर छ। भू–राजनीतिक अवस्था, विशेष गरी अमेरिका–इरान सम्बन्धसँग सम्बन्धित घटनाक्रमले बजारलाई प्रभाव पारिरहेको छ।
अमेरिका र इजरायलबीच चलिरहेको द्वन्द्व अन्त्य गर्न लेबनानसँग युद्धविराम सहमति भएको खबरले बजारमा शान्तिको अपेक्षा बढाएको छ। यससँगै कच्चा तेलको मूल्य घटेको छ, जसले मुद्रास्फीति दबाब कम हुने संकेत दिएको छ।
तर, अमेरिकी फेडरल रिजर्भका अधिकारीहरूले तत्काल मौद्रिक नीतिमा परिवर्तन आवश्यक नरहेको संकेत दिएका छन्। न्यूयोर्क फेडका अध्यक्ष जोन विलियम्सले द्वन्द्वका कारण देखिएको मुद्रास्फीति जोखिम दीर्घकालीन नहुने बताएका छन्।
विश्लेषकहरूले आगामी महिनाहरूमा बजार अस्थिर रहने तर दीर्घकालीन रूपमा सुनमा अझै वृद्धि सम्भावना रहने अनुमान गरेका छन्।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।