सोमबार, श्रावण १८,२०८३ 03:37:45
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 03:37:45
Bizshala
Global IME Bank Limited

उच्च मूल्यका कारण सुन व्यवसाय मन्दी उन्मुख, बजेटको नयाँ कर दरले कस्तो परिरहेको छ प्रभाव ?

उच्च मूल्यका कारण सुन व्यवसाय मन्दी उन्मुख, बजेटको नयाँ कर दरले कस्तो परिरहेको छ प्रभाव ?
New Office

 

 

–रविन ठकुरी

काठमाण्डौ । बदलिँदो भू–राजनीतिक अवस्था र मध्य पूर्वमा सिर्जना भएको द्वन्दका कारण सुन पछिल्लो समय उच्च  मूल्यमा कारोबार भईरहेको छ। पछिल्लो समय सुनको मूल्य ३ लाख रुपैयाँमाथि पार गरेर कारोबार भइरहँदा नेपालका सुन व्यवसायी भने मर्कामा परिरहेका हुन् ।

सुन पसलमा खरिद गर्ने ग्राहकभन्दा बिक्री गर्नेको चाप बढेकाले सुन व्यवसाय मन्दीतर्फ उन्मुख भएको छ । राज्यले उनीहरुको माग र समस्यालाई वेवास्ता गरिदिँदा आगामी दिनमा सुन व्यवसायी पलायन हुनुपर्ने अवस्था आउने सुन व्यवसायीको भनाई छ ।

किन भइरहेछ सुनको मूल्यमा उतारचढाव ?

मध्यपूर्वमा पछिल्लो समय तनावको माहोल सिर्जना भइरहेको छ । अमेरिका, इजरायल र इरानबीचको भूराजनीतिक विवाद, आणविक कार्यक्रम, हर्मुज जलमार्गको नियन्त्रण र प्यालेस्टाइन–इजरायल द्वन्दका कारण यो विवाद उत्कर्षमा पुगेको हो ।

यसैबिच फेब्रुअरी २८, २०२६ मा संयुक्त राज्य अमेरिकाले इरानमाथि संयुक्त रुपमा गरेको अचानक सैन्य हमलाले इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनी र अन्य शीर्ष सैन्य तथा राजनीतिक नेतृत्वको मृत्यु भयो । यही विषयपछि गएर युद्धमा परिणत भयो । हालसम्म मध्यपूर्वको द्वन्द निरन्तर जारी छ ।

मध्यपूर्वको युद्धको असर नेपाल लगायत विश्वका करिब–करिब सबै राष्ट्रमा देखिएको छ । मध्य पूर्व युद्धका कारण विश्वको आर्थिक प्रणाली तहसनहस भएसँगै मूल्यबृद्धिले स्थान पाइरहेको छ । यस युद्धको बाछिटाबाट नेपाल पनि अछुतो हुन सकेको छैन ।

यस युद्धका कारण सुनको मूल्यले एकपछि अर्को क्रिर्तिमानी रेकर्ड कायम गरि कारोबार भइरहेको छ । ‘सुनको उच्च मूल्यका कारण व्यापार शून्य जस्तै छ । अहिले सुन पसलमा खरिद गर्नेभन्दा विक्री गर्नेको घुइँचो बढी छ । अब ग्राहकबाट थप सुन किन्न नसक्ने अवस्थामा छौं । माहोल यस्तै रहे सुन व्यवसायी पलायन हुन सक्दछन्’, नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष अर्जुन रसाइलीले भने ।

गत माघ १५ गते सुनको मूल्य हालसम्मकै उच्च विन्दु अर्थात प्रतितोला ३ लाख ३९ हजार ३ सय रुपैयाँ सुन हाल भने घटेको अवस्था छ । गएको २ देखि ३ दिनसम्मको अवधिलाई नियाल्दा सुन ३ लाख रुपैयाँ तल झरेर कारोबार भइरहेको अवस्था छ ।

‘युक्रेन, रसिया, पोल्याण्ड, जर्मनी र भारतले आफूसँग भएको सुन विक्रीको तयारी गर्दा हाल सुनको मूल्यमा कमी आइरहेको हो । सुनको मूल्यको बढ्दो उछालमा कमी ल्याएको हो ।’, महासंघका अध्यक्ष रसाइलीले बताए ।

पछिल्लो समय सुनको मूल्यमा उतारचढाव आउनुमा मध्यपूर्वको युद्ध र शक्ति राष्ट्रले आफुसँग भएको सुन विक्री गर्न खोज्नु नै प्रमुख कारण हो । बढ्दो मूल्यमा सुन खरिद गर्न नखोज्ने ग्राहक अहिले घट्दो मूल्यमा पनि खरिद गर्न चाहिरहेका छैनन् ।

आर्थिक वर्ष २०८३/८४ को बजेटले सुनमाथि लगाएको विलासिता शुल्क करमा परिमार्जन गरेको छ । बजेटले सुनमाथि लगाएको २ प्रतिशतको विलासिता शुल्क करलाई हटाएको छ । यसको सट्टा ०.५ प्रतिशतको सीप प्रवद्र्धन शुल्क लगाएको छ ।

बजेटले भन्सार शुल्क १० प्रतिशतबाट बढाएर २० प्रतिशत पुर्याएको छ । नयाँ भन्सार महशुलले सुनको मूल्यमा थप उछाल आउने देखिन्छ । बजेटले कायम गरेको नयाँ करको दर साउन १ गतेबाट लागू हुनेछ ।

‘सरकारको नयाँ कर दर साउनबाट लागू हुन्छ । अहिले मलमास चलिरहेको छ । मलमासमा ग्राहक नयाँ सुन खरिद गर्न चाहँदैनन् । मलमास अब केहि दिनमा सकिँदैछ । असार लागेपछि वास्तविक सुनको कारोबारको बारेमा थाहा हुन्छ ।’, उनले भने ।

हाल सुनको कारोबारमा आएको सुस्तताले सुन व्यवसाय मन्दी उन्मुख छ । व्यवसायको कारोबार शून्य प्रतिशतमा नै झरेको छ । व्यवसायी संकटतर्फ धकेलिएका छन् । यसमा आश्रित मजदुरको रोजगारी गुम्ने जोखिम पनि उत्तिकै छ ।

व्यवसाय जोगाउन सुन व्यवसायीको सरकारसँग अपिल  

आर्थिक वर्ष २०८३/८४ को बजेटले सुन तथा चाँदीमा लगाउँदै आएको २ प्रतिशत विलासिता शुल्क हटाएको छ । यसको साटो उपभोक्ताबाट विक्रीमा ०.५ प्रतिशत सीप प्रवद्र्धन शुल्क थप असुल गर्ने व्यवस्था लागू गरिएको छ ।

विगतमा लगाउँदै आएको विलासिता शुल्क कर यो पटकको बजेटले पूर्ण रुपमा कटौति गरेको हो । विलासिता शुल्क करका कारण विगतमा महङ्गो भएको सुनको मूल्यलाई थोरै भएपनि राहत मिलेको थियो ।

तर आर्थिक वर्ष २०८३/८४ को बजेटले सुनको भन्सार महशुल १० प्रतिशतबाट बढाएर २० प्रतिशत पुर्याएको छ । ५० ग्रामसम्मको काँचो सुनमा २० प्रतिशत भन्सार लाग्ने भएको हो । त्योभन्दा बढी थप ५० ग्रामसम्मका लागि थप ३ प्रतिशत शुल्कको व्यवस्था गरिएको छ । पहिलेभन्दा अहिले दोब्बर बढाइएको भन्सार महशुलले सुनको मूल्यमा थप उछाल ल्याउने संकेत गरिरहेको छ ।

‘अहिलेको बजेटले विलासिता शुल्क कर घटाएर राम्रो गर्यो । यस शुल्कका कारणले महङ्गो भएको सुनको मूल्यमा कमी आउन सक्दछ । तर यहि बजेटले दोब्बर बनाएको भन्सार महशुलका कारण सुनको मूल्यमा थप उछाल आउन सक्दछ । सुन व्यवसायलाई जोगाउन भन्सार दरको समायोजन हुनुपर्दछ’, महासंघ अध्यक्ष रसाइलीले भने ।

सुन व्यवसायलाई जोगाउन भन्सार दरको समायोजनसँगै दैनिक सुन आयातको कोटामा बृद्धि गर्नुपर्ने उनीहरुको माग छ । हाल दैनिक आयात गरिएको सुन बजारमा अपुग छ ।

नेपाल राष्ट्र बैंकले दैनिक आयात गर्ने सुनको कोटा २५ किलो बनाएको छ । तर यो सुन बजारको मागको आधारमा अझै अपुग छ । सुन बिक्रीको सिजनमा यो अपुग हुन्छ भने अफ सिजनमा यो बढी हुन्छ ।

‘दैनिक सुन आयातको कोटा ५० किलोग्राम पुर्याउनु पर्ने हाम्रो माग छ । यसो हुँदा बजारको मागअनुसार सुन पुर्याउन सकिन्छ’, उनले भने ।

भन्सार महशुललाई समायोजन गरि दैनिक सुन आयातको कोटालाई नबढाएसम्म सुन व्यवसायले राहत नपाउने उनीहरुको बुझाई छ ।

सरकारले यी मागको सम्बोधन नगरे सुन व्यवसाय मन्दी उन्मुख हुने उनीहरुको दाबी छ । यसका लागि उनीहरुले सरकारलाई निरन्तर दवाव दिँदै सहमतिमा ल्याउने प्रयास जारी राख्ने बताएका छन् । 

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.