काठमाण्डौ । अमेरिका र इरानबीच जारी द्वन्द्व अन्त्य गर्ने प्रारम्भिक सहमति भएको खबर सार्वजनिक भएसँगै अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य सोमबार करिब २ प्रतिशत बढीले वृद्धि भएको छ। स्पट गोल्डको मूल्य २.५३ प्रतिशत अर्थात १०६.३१ डलरले बढेको छ । यो वृद्धिसँगै सुनको मूल्य विश्वबजारमा प्रतिऔंस ४ हजार ३२६ डलर पुगेको छ । जुन जुन ९ यताकै उच्च स्तर हो।
अमेरिकार इरानका अधिकारीहरूले युद्ध अन्त्य गर्ने, इरानमाथिको अमेरिकी नाकाबन्दी हटाउने तथा विश्व ऊर्जा आपूर्तिको प्रमुख मार्ग मानिने स्ट्रेट अफ हर्मुज पुनः सञ्चालन गर्ने रूपरेखामा सहमति भएको बताएका छन्। सहमतिमा औपचारिक हस्ताक्षर यसै साता स्विट्जरल्यान्डमा हुने अपेक्षा गरिएको छ।
शान्ति सम्झौताप्रतिको अपेक्षाका कारण अमेरिकी डलर कमजोर बनेको छ भने कच्चा तेलको मूल्य ४ प्रतिशतभन्दा बढीले घटेको छ। तेलको मूल्य घट्दा मुद्रास्फीतिको दबाब कम हुने अपेक्षा गरिएको छ, जसले सुन बजारलाई सकारात्मक समर्थन दिएको विश्लेषकहरूले बताएका छन्।
बजार विश्लेषकहरुका कमजोर डलर र घट्दो तेल मूल्यले हाल सुनलाई बलियो आधार प्रदान गरेको छ। यद्यपि, यो वृद्धि शान्ति सम्झौता कति दिगो रूपमा कार्यान्वयन हुन्छ भन्ने कुरामा निर्भर रहनेछ।
युद्धका कारण तेल मूल्यमा भएको तीव्र वृद्धिले विश्वव्यापी मुद्रास्फीति बढाएको थियो, जसका कारण केन्द्रीय बैंकहरूले ब्याजदर उच्च राख्ने सम्भावना बलियो बनेको थियो।
अहिले शान्ति प्रक्रियाले ती चिन्ताहरू केही हदसम्म कम गरेको छ। बजारले अमेरिकी फेडरल रिजर्भले डिसेम्बरमा ब्याजदर बढाउने सम्भावना पनि घटेको रूपमा मूल्यांकन गरिरहेको छ।
यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य ३.६९ प्रतिशत अर्थात २.५० डलरले बढेर प्रतिऔंस ७०.४४ डलर पुगेको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।