काठमाण्डौ । विश्व बजारमा कच्चा तेलको मूल्य घटेको छ। अमेरिका र इरानबीच अस्थायी समझदारी भएको समाचारपछि लगानीकर्ताहरूले मध्यपूर्वमा देखिएको आपूर्ति जोखिम कम हुने अपेक्षा गर्दै बजारमा बिक्री दबाब बढाएपछि मूल्यमा गिरावट आएको हो।
ब्रेन्ट क्रुडको मूल्य १.६६ प्रतिशतले घट्दै प्रतिब्यारेल ७८.२३ अमेरिकी डलरमा झरेको छ भने डब्लूटीआई क्रुडको मूल्य पनि १.९० प्रतिशतले घटेर प्रतिब्यारेल ७५.२३ डलरमा कारोबार भएको छ।
हालको गिरावटको मुख्य कारण इरानबाट पुनः ठूलो मात्रामा कच्चा तेल आपूर्ति विश्व बजारमा फर्किन सक्ने अपेक्षा भएको बजार विश्लेषकहरूले बताएका छन्।
हाल सार्वजनिक भएको प्रारम्भिक समझदारीअनुसार अमेरिका र इरानबीच ६० दिनको वार्ता अवधि सुरु भएको छ, जसमा प्रमुख रूपमा रणनीतिक जलमार्ग स्ट्रेट अफ हर्मुज पुनः पूर्ण रूपमा सञ्चालनमा ल्याउने विषय समावेश छ।
यस सम्झौताले इरानमाथिका अमेरिकी प्रतिबन्धहरू खुकुलो पार्ने सम्भावना पनि देखिएको छ, जसले विश्व बजारमा कच्चा तेल आपूर्तिमा उल्लेखनीय वृद्धि हुन सक्ने अनुमान गरिएको छ। विश्लेषकहरूका अनुसार यदि समझदारी पूर्ण रूपमा कार्यान्वयन भएमा आगामी वर्षहरूमा बजारमा आपूर्तिको अधिकता देखिन सक्ने जोखिम बढेको छ।

