काठमाण्डौ । भारतले सुनको भन्सार शुल्क घटाएको छ । भारतकी वित्तमन्त्री निर्मला सीतारमणले आगामी आवका लागि बजेट प्रस्तुत गर्दै सुनचाँदीको भन्सार दर घटाएकी हुन् ।
सीतारमणले सुनको भन्सार दर ५.३५ प्रतिशत कामय गरेकी छिन् । सन् २०२३/२४ मा भारतमा सुनको भन्सार दर १४.३५ प्रतिशत कायम थियो । यससँगै नेपालको तुलनामा भारतमा सुन प्रतितोला १० हजार रूपैयाँ हाराहारी सस्तो हुने भएको छ । नेपालमा भने सुनको भन्सारदर २० प्रतिशत रहेको छ ।
चालू आर्थिक वर्षमा तत्कालीन अर्थमन्त्री वर्षमान पुनले भन्सार दर बढाएर २० प्रतिशत पुर्याएका थिए ।
भारतमा सुन र चाँदी समेत मिसिएको गोल्ड डोरको भन्सार शुल्क पनि १४.३५ प्रतिशतबाट घटाएर ५.३५ प्रतिशतमा झारिएको छ। सिल्भर डोरको भन्सार शुल्क समेत १४.३५ प्रतिशतबाट ५.३५ र प्लाटिनमको भन्सार शुल्क १५.४ प्रतिशतबाट घटाएर ६.४ प्रतिशतमा सीमित बनाइएको छ । भारतले सुन तथा बहुमूल्य धातुको उत्पादनमा हुने मूल्य अभिवृद्धिलाई बढाउन भन्सार मूल्य घटाएको हो।
भारतले सुनको भन्सार शुल्क घटाएसँगै भारतबाट नेपालमा सुनको तस्करी बढ्ने सम्भावना उच्च बनेको यस क्षेत्रका व्यवसायीहरुले बताएका छन् । नेपालको खुला सीमा नाकाको फाइदा उठाउँदै सुनको तस्करी बढ्ने चिन्ता व्यक्त भएको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।