काठमाण्डौ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) र चीन काउन्सिल फर द प्रमोशन अफ इन्टरनेशनल ट्रेड, अटोमोबाइल सब–काउन्सिल (CCPIT–Auto ले अटोमोबाइल क्षेत्रको व्यापार र सहकार्यलाई थप मजबुत बनाउन महत्वपूर्ण सम्झौता(एमओयू)मा हस्ताक्षर गरेका छन् ।
यो सम्झौताले नेपाल र चीनबीच आर्थिक सम्बन्धलाई सुदृढ गर्न, व्यापार प्रवर्द्धन गर्न र अटोमोबाइल उद्योगमा दिगो विकासका सम्भावनाहरू अघि बढाउन महत्वपूर्ण भूमिका खेल्ने नाडाले जनाएको छ । व्यापार मेलाहरू, व्यावसायिक प्रतिनिधिमण्डलहरूको आदानप्रदान र नीति वकालतजस्ता संयुक्त पहलमार्फत दुवै देशका अटोमोबाइल उद्योगका नयाँ सम्भावनाहरू खुलाउने लक्ष्य राखिएको छ ।
यस्ता छन् सम्झौता :
–नाडाले नेपालका अटोमोबाइल क्षेत्रमा लगानीका सम्भावना पहिचान गर्ने, व्यापार मेलाहरू आयोजना गर्ने र नेपाली बजारमा रुचि राख्ने चिनियाँ व्यवसायीहरूलाई सहयोग गर्नेछ ।
–CCPIT–Auto ले नेपालमा चिनियाँ लगानी प्रवर्द्धन गर्ने, प्रविधि आदानप्रदानलाई सहयोग गर्ने र संयुक्त कार्यक्रमहरू सञ्चालनमा साथ दिनेछ ।
यो साझेदारीको कार्यान्वयनको निगरानी गर्न संयुक्त कार्य समूह गठन गरिनेछ । जसले नियमित प्रगति समीक्षा गर्ने र आवश्यक सुधारका उपायहरू लिनेछ । दुवै पक्षले बौद्धिक सम्पत्तिको अधिकारको सम्मान गर्ने र सहकार्यका क्रममा गोपनीयता कायम राख्ने प्रतिबद्धता जनाएका छन् ।
यो सम्झौता दुवै देशका अटोमोबाइल उद्योगलाई दिगो र समृद्ध बनाउँदै आर्थिक सहकार्यको नयाँ अध्याय सुरु गर्ने दिशामा ठोस कदम भएको नाडाले उल्लेख गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको यही मंसिर १७ गते देखि २० गतेसम्मको औपचारिक चीन भ्रमणको क्रममा नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्वमा गएको व्यापारिक प्रतिनिधि मण्डलमा नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालको प्रतिनिधित्व गर्दे नाडाका अध्यक्ष करण चौधरी र महासचिव सुरेन्द्रकुमार उपे्रती समेतको उपस्थिति रहेको छ । यसै सन्दर्भमा पूर्व निर्धारित कार्यक्रम अनुसार दुई देशका व्यापारिक प्रतिनिधि मण्डलविच विभिन्न विषयमा छलफल भएको हो ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।