किरणकुमार श्रेष्ठ(सीइओ)-राष्ट्रिय वाणिज्य बैंक लिमीटेड

बैशाख १२ गते बिहानैदेखि म कुपण्डोलमा थिएँ, त्यहाँ रहेको थाइराइड र डायबिटिज सेन्टरमा अन्य २५ जनासँगै बसेर तालिम लिइरहेको थिएँ । मैले त्यहाँ ६ बजेदेखि १२ बजेसम्म कक्षामा बस्नुपर्ने थियो, त्यो दिन पौने ६ बजे नै म त्यहाँ पुगिसकेको थिएँ । डाक्टर सुरज शाक्यले हाम्रो कक्षा लिइरहनुभएको थियो, कक्षा सकिनै लागेको थियो, एक्कासी घर हल्लिन थाल्यो । पहिला त भ्रम पनि भयो, तर लगातार हल्लिन थालेपछि भूकम्प भन्ने थाहा भयो र हामी बसिरहेको सोफा समातेर भगवानको नाम जप्न थाल्यौं । म ६ जना अट्ने सोफाको कुनातिर झ्यालनजिक थिएँ । झट्टै उठेर हिँड्ने अवस्था थिएन, सोफाको पछाडिपट्टिको भागलाई समातेर भगवानको नाम जप्न थाल्यौं । हाम्रो टोलीमा सहभागीमध्ये कोही त ७५ वर्ष उमेरका पनि थिए । कोही भगवानको नाम जप्न थाले, कोही रुन कराउन थाले, कोही श्लोक भन्न थाले । मलाई चाहि सो बेला आफू बाँचिएला वा मरिएलाा भन्दा पनि घरतर्फको पीरले बढी सताएको थियो । घरमा रहनुभएका मेरा ९० वर्षका बुबा र ९ महिनाको गर्भवती मेरी बुहारीलाई त केही भएन ? भन्ने पीरले मेरो मन कुटकुट खाइरहेको थियो । म कतिबेला भूकम्प रोकिन्छ र घरतर्फ हुइँकिउला भनेर कुरिरहेको थिएँ । 

दुईतलामाथि यति धेरै हल्लायो कि, भूकम्पले यसरी पिङ खेलाएको अहिलेसम्म कुनै अनुभव थिएन । एकनाशले निकै हल्लाइरहँदा ‘लु आज चाहि बर्बादै भयो, सबै खत्तम नै भयो’ भन्ने लागेको थियो । मेरो घर धोबीघाटमा हो । मेरो घर रहेको क्षेत्र वरिपरि अन्य घर छैनन् । छेउछाउमा टाँसिएका घरहरु भए तिनीहरुको सपोर्टले घर लड्दैन भन्ने हुन्थ्यो । खुल्ला ठाउँमा घर भएकोले मेरो घर चाहि गल्र्याम गुर्लुम्मै गयो होला भन्ने लागेको थियो । बैचेन मन लिएर भूकम्प केही रोकिएपछि म कक्षा कोठाबाट निस्किएँ र गाडी लिएर धोबीघाटतर्फ हुइँकिएँ ।

म थाइराइड र डायबिटिज सेन्टरबाट बाहिर निस्किएपछि काठमाण्डौ ध्वस्त भएको देखेँ । यत्रो ठूलो क्षति भयो होला जस्तो लागेको थिएन । मैले निस्किदै गर्दा पहिलोपटक हिमालय होटलको पर्खाल ढलेको देखँँे, त्यसपछि चाहि मेरो मनमा चिसो पस्यो । अगाडि बढ्दै जाँदा थप त्रासपूर्ण अवस्था देखेँ । मानिसहरु मरिरहेका, लडिरहेका, भागिरहेका, बाटोमा जम्मा भएका, घरहरु ध्वस्त भएर काठमाण्डौमा धूवा तथा धूलोको कुहिरीमण्डल लागेको निकै अत्यासलाग्दो अवस्था थियो । अगाडि बढ्दै गर्दा पहिला हिँड्ने बाटोमा घर तथा भवनहरु लडेर अवरुद्ध थिए । केही समयपछि मैले हतार–हतार एफएम खोलेँ, अनि पो थाहा भयो धरहरा पनि ढलेछ, कयौंको हताहती पनि भएछ । यो खबरले मलाई थप नर्भस बनाइदियो, मनमा निकै धेरै चिसो पस्यो, एक्कासी जिउमा पसिना आयो र म त गाडीभित्रै डरले काम्न थालेछु । म पूरै नर्भस भइसकेको थिएँ, म त्यसबेला पुल्चोक पुगिसकेको रहेछु । म जावलाखेलबाट घरतर्फ गाडी मोड्न खोजेँ, तर त्यहाँबाट पनि जानसक्ने अवस्था थिएन । एकान्तकुनाबाट दाहिने मोड्न खोजेँ, सकिँन । त्यसपछि सोझै चक्रपथ निस्किएर निकै लामो बाटो भई घरतर्फ जाने निधो गरेँ । मनमा ९० वर्षका मेरा पिता र ९ महिनाकी गर्भवती बुहारीकै पीर थियो । धन्न छोराले फोन गर्यो, सबैजना सुरक्षित भएको खबर सुनायो । मन केही हलुका भयो । तर बाटोका कहालीलाग्दो दृश्यले म भित्रभित्रै अत्तालिरहेको थिएँ, मेरा आफन्त र परिवारजनलाई भेटेर घ्याप्पै अँगालो हालौं जस्तो भइरहेको थियो । 

अँगालो मार्दै रुवाबासी
घुमाउरो बाटो हुँदै बल्लतल्ल घर पुगेँ । धन्न कसैलाई केही भएको रहेनछ ! छिमेकीसँग सबैजना बाहिर बसेका रहेछन् । त्यहाँ त मानिसको रमित रहेछ । सबैको अनुहार पढे, त्रास छाएको थियो । अब सबै बर्बाद भयो, संसार नै सकियो भनिरहेका थिए ब्रुज्रुकहरु समेत । केटाकेटी, महिलाहरु अत्तालिएर ओइल्याइसकेको साग झै देखिन्थे । छिमेकीहरुको बीचमा मेरो परिवारका सदस्य सकुशल देख्दा मेरो मनभित्रको भँडास नियन्त्रण हुन सकेन । म त दौडिएर मेरो ९० वर्षको पितालाई अँगालो हाल्न पुगेछु । पितालाई अँगालोमा बेस्सरी कस्दै म त डाँको छाडेर रुन थालेछु, बुबा पनि रुनु भयो । परिवारका सबै वर्षौअघि बिछोडिएर भेट भएका आफन्त झै आपसमा अँगालो मारेर रुयौं । अवस्था निकै सेन्टीमेन्टल भयो । केहीबेरको रुवाबासीपछि हामीले आफूलाई नियन्त्रण गर्यौं । 

पराकम्पनहरु आइरहेकै थियो । भूकम्पले धर्ति र मन हल्लाउन छाडेको थिएन । घण्टा–घण्टाको फरकमा आइरहने पराकम्पनबाट मानिसहरु डरसरि भएका थिए । त्यसपछि हामीले घरछेउको टोलमा रहेको स्कूलको प्रांगणमा रात बिताउने चाँजोपाजो मिलाउन थाल्यौं  । हामी छरछिमेक मिलेर दिनभरि बेञ्च ल्याएर मिलायौं, सरहरुलाई समेत अनुरोध गरी आवश्यक सहयोगहरु माग्ने काम भयो । हामी ७ दिनसम्म त्यही स्कूलमा बस्यौं । 

छिमेकी चिनायो, मित्रता बढायो
भूकम्पले धेरै ठाउँमा ठूलै क्षति गर्यो । तर वल्लो घर र पल्लो घरकै पनि खासै ख्याल नगर्ने हामी स्वार्थीहरुलाई मित्रताको गतिलो पाठ पनि सिकाइदियो । भूकम्प जानुअघि एउटै टोलमा बसेर, वरपर बसेर पनि कहिले नबोलेको, नचिनेको मानिससँग चिनजान भयो । मानवीयताको कुरो संकटको बेलै आउँदो रहेछ । तपाईको कोही बिरामी छ कि ? पानीको व्यवस्था छङछैन ? औषधि छ÷छैन ? खानेकुरा छ÷छैन ? भन्ने कुरा एकआपसमा सोधिँदो रहेछ । बिपतको बेलामा मानिसमा सामाजिक भावनाको एकदमै धेरै विकास हुँदो रहेछ । मलाई यो भूकम्पले सिकाएको ठूलो पाठ हो यो । 

विपतपछि ज्यान जोगाउन एकैठाउँमा बस्दा उचनिच, धनी गरीब जस्ता वर्गीय विभेदका कुरा हराउँदा रहेछन् । आखिर मान्छे सबै एउटै हो, जीवन सबैको अमूल्य छ, सबैका प्रियजन उनीहरुका लागि उत्तिकै प्रिय हुँदा रहेछन भन्ने कुराको समेत अनुभूत गराउँदो रहेछ । भूकम्पपछि एउटै थलोमा ७ दिनसम्म बसेका कारण अहिले छरछिमेकसँग मित्रता भएको छ, राम्रो चिनजान भएको छ । अब एकअर्कालाई चिन्न थालिएको छ । पहिला त्यहीँ बाटो हिँड्दा वास्ता हुँदैन थियो, अब हेल्लो हाई हुन थालेको छ । कम्तीमा नजिकै बसेर समेत टाढा हुने अवस्थाको अन्त भएको छ । गाउँटोलमा पारिवारिक वातावरण बनेको छ । 

०४५ सालमा चाहि सुतेँ
मेरो बैशाख १२ गतेको यो भूकम्पको अनुभव जीवनकै पहिलो होइन । ०४५ सालको भूकम्पको पनि म प्रत्यक्षदर्र्शी र भुक्तभोगी हुँ । म त्यसबेला विर्तामोडमा काठको टाँडे घरमा डेरा बस्थेँ, बैंकको जागिर खाने क्रममा त्यहाँ पुगेको थिएँ । मेरो परिवार चाहि सो बेला धरान गएको थियो । धरान मेरो ससूराली हो । बिहानै भूकम्प गएपछि अरुसँगै म पनि घरबाट तल केहीबेर झरेँ, तर एकदमै निद्रा लागिरहेकोे थियो । भूकम्प रोकिएपछि फेरि गएर सुतेको, म त केही घण्टासम्म निदाएछु । साथीहरुले ढोका ढकढक्याउँदा मात्र पो थाहा भयो र उठँे । त्यसबेला अहिलेको जस्तो मोवाइल थिएन । मलाई धरान गएका परिवारको बारेमा चिन्ताले सताउन थालेको थियो । रेडियोमा समाचार सुन्यौं, धरान र उदयपुर त भूकम्पले सखापै बनाएको छ भन्ने कुरा आयो । म औधी डराएको थिएँ त्यसबेला, कतै मेरो परिवारलाई त केही भएन ? त्यसपछि अफिसमा गएँ र त्यहाँ भेला भएपछि धरानमा निकै ठूलै क्षति छ भन्ने सुनेपछ म हतार हतार गाडी चढेर धरानतर्फ हुइँकिएँ, धन्न कसैलाई केही भएको रहेनछ । तर बैशाख १२ गतेको जस्तो त्रासदीपूर्ण अनुभव र यति धेरै ०४५ सालमा हल्लाएको थिएन । बैशाख १२ गतेको त्रासपूर्ण र धेरै हल्लाएको अनुभव चाहि पहिलो नै हो । 

हाम्रा लागि शिक्षा
बैशाख १२ गतेको महाभूकम्पपछि हामीले धेरै पाठ सिकेका छौ वा सिक्नुपर्छ । भूकम्पप्रति पहिलादेखि नै सावधानी अपनाउनुपर्ने रहेछ, पूर्व तयारी पनि हुनुपर्ने रहेछ । घर, भवन तथा ठूला संरचनाहरु बनाउँदा सानोतिनो पैसाको लोभ गरेर गुणस्तरमा सम्झौता गर्न नहुने रहेछ । सरकारी मापदण्ड मान्नुपर्ने रहेछ । अर्को कुरा भूकम्प आउँदा कोही कोही चाहिने भन्दा बढी अत्तालिने गरेका कारण समेत क्षति भएको देखिएको छ, यो कुरामा पनि सचेत हुनुपर्ने रहेछ । भूकम्प आउँदा संयमित हुनुपर्छ, भूकम्प आए ‘यसो गर्छु’ भन्ने माइण्ड सेट पहिला नै गर्नुपर्ने हुन्छ । कुनै पनि बेला आउन सक्छ, आयो भने म यसो गर्छु भन्ने सोंच बनाउनुपर्ने रहेछ । 

सायद महाभूकम्पले सिकाएको पाठले नै होला, अहिले हाम्रो घरको बैठक कक्षमा निकै ठूलो र मजबुत बिम छ, पराकम्पन आउने बित्तिकै मेरो ९१ वर्षको बुबा र हामी सबै परिवार त्यही बिममुनि हतार–हतार भेला हुन्छौ र त्यहाँ रहेको पिलरलाई समातेर आफूलाई सुरक्षित महसुस गराउँछौ । अरुले पनि यस्तै माइण्डसेट बनाउनुपर्छ । भूकम्प आइहाल्यो भने कहाँ जम्मा हुँदा बढी सुरक्षित भइन्छ भन्ने कुरा बेलैमा सोच्नुपर्छ, सल्लाह गर्नुपर्छ । 

भूकम्पले व्यक्तिलाई त पाठ सिकायो नै आत्मनिर्भर अर्थतन्त्रको कुरा गरेर नथाक्नेहरुलाई समेत केही व्यवहारिक कुरा सिकाएको छ । आयातमुखी अर्थतन्त्र र परनिर्भर अर्थतन्त्रलाई आत्मनिर्भर अर्थतन्त्रको दिशामार्फत मोड्न आवश्यक छ भन्ने कुरा राज्य संचालकहरुले समेत बुझिसकेका छन्, यो बुझाई भूकम्पकै देन हो । पैसा मात्र भएर नहुने रहेछ, कम्तीमा खाद्यान्न, पानी, तेल जस्ता आधारभूत बस्तुको जोहो बेलैमा हुनुपर्ने रहेछ भन्ने पनि पाठ सिकाएको छ । जुनसुकै बेला भूकम्प जानसक्छ भन्ने कुरा बुझेर आधारभूत वस्तुहरुको स्टक राख्ने काम समेत राज्यबाट हुनुपर्ने रहेछ । ठूला शहरहरुमा साँघुरा बाटाहरु छन्, अस्पताल जस्ता ठाउँमा जाने एउटा मात्र विकल्प समेत हुने गरेको छ । यो विषयमा सोच्न आवश्यक छ अब । कम्तीमा एउटा बाटो अवरुद्ध हुँदा अर्को बाटोबाट गन्तव्यमा पुग्न सकियोस् । धन्न महाभूकम्पका कारण देशको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल बन्द गर्नु परेन । त्यो बन्द भएको थियो भने मानिस खान नपाएर मथ्र्यो नि । यसको अर्थ एयरपोर्ट जस्ता कुराहरुको समेत विकल्प हुनुपर्ने रहेछ भन्ने पनि पाठ सिक्नु जरुरी छ । आर्थिक नीति बनाउँदा यस्ता कुरामा ध्यान दिन आवश्यक छ । यसो गर्न सकियो भने मात्र विपत्तिमा बाँच्न सक्छौ, अरुलाई पनि बचाउन सक्छौ । 

महाभूकम्पका कारण उद्योग व्यापार चौपट भयो । यसको अर्थ उद्योगीले समयमा किस्ता तिर्न सकेन । समयमा ब्याज तिर्न सकेन । एनपीए बढ्यो, खराबकर्जा बढ्यो । यसको अर्थ बैंकहरुको व्यापार समेत चौपट भयो । लक्षित आम्दानी हुन सकेन । बैकिङ क्षेत्रलाई समेत नकारात्मक असर पुर्यायो । तर यदि सबै मिलेर बेलैमा पूर्व तयारी गर्ने हो भने भूकम्पको क्षति कम गर्न सकिन्छ । प्राकृतिक विपत्तिलाई रोक्न त सकिन्न, तर सबै बेलैमा सचेत हुने हो भने क्षति कम गराउन सकिन्छ । अनाहकमा मानिसकले ज्यान गुमाउनुपर्दैन ।