काठमाण्डौ । अंग्रेजी नयाँ वर्षका अवसरमा नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेडले ‘आजीवन डिम्याट खाता २०२२’ अफर सार्वजनिक गरेको छ। 

कम्पनीले २०२२ जनवरी १ गतेदेखि लागू हुने गरी यो अफर सार्वजनिक गरेको हो। यो योजनाअन्तर्गत जनवरी १, २०२२ वर्षभरिका लागि अर्थात अन्तिम डिसेम्बर २०२२ सम्मसम्मका लागि यस्तो खाता खोल्न चाहने लगानीकर्ताका लागि कम्पनीले रु. ९७८ छुटसहित जम्मा रु. २०२२ मा जीवनभर नवीकरणको झन्झटबाट मुक्त हुने आजीवन डिम्याट खाता तथा मेरो सेयर खाता खोल्न पाउने व्यवस्था गरेको छ। यस्तो सुविधा विद्यमान खातावालाहरुले पनि आफूले भुक्तानी गर्नुपर्ने नवीकरणबापतको बाँकी रकम भुक्तानी गरी प्राप्त गर्न सक्नेछन्। यसका साथै आजीवन डिम्याट खाता तथा मेरो सेयर खाता खोल्नका लागि नबिल इन्भेस्टमेन्टको https://onlinedemat.nabilinvest.com.np/ मा गई खोल्न सकिनेछ भने नवीकरणबापतको भुक्तानी गर्न बाँकी रकम पनि https://onlinedemat.nabilinvest.com.np/Payment/DematRenew मा गई अनलाइनबाट नै भुक्तानी गर्न सकिनेछ।

कोभिड महामारीलाई ध्यानमा राखेर कम्पनीले गत वर्ष पुस २६ गते नेपालमै पहिलोपटक आजीवन डिम्याट खाताको योजना ल्याएको थियो। जसअनुसार नयाँ डिम्याट खाता खोल्न चाहने व्यक्ति तथा संस्थाहरुले डिम्याट खाता खोल्दाको बखत एकैपटक रु. ३ हजार भुक्तानी गरी आजीवन नवीकरण गर्ने झन्झटबाट मुक्त हुन सक्ने व्यवस्था कम्पनीले गरेको थियो। तर यो अंग्रेजी नयाँ वर्षमा भने कम्पनीले ९७८ रुपैयाँ छुटसहित रु. २०२२ मै आजीवन डिम्याट खाता खोल्न सकिने अफर सार्वजनिक गरेको हो। 

यो सुविधाबाट डिम्याट खाता खोली विदेशमा रहेका डिम्याट खातावालाहरु तथा विभिन्न कारणले आफ्नो डिम्याट खाता नवीकरण गर्न असमर्थ भएका लगानीकर्ताहरुले एकैपटक एकमुष्ट रकम जम्मा गरी जीवनभरका लागि खाता नवीकरणको झन्झटबाट मुक्त भई फाइदा लिने कम्पनीको विश्वास छ।