काठमाण्डौ । परीक्षणमा सहभागी एक बिरामीमा थप समस्या देखिएपछि रोकिएको अक्सफोर्ड युनिभर्सिटीद्वारा तयार पारिएको कोरोनाविरुद्धको भ्याक्सिनको अन्तिम ट्रायल पुनः सुरु हुने भएको छ।

एस्ट्रजेनेकाद्वारा उत्पादन गरिने यो भ्याक्सिनको अन्तिम ट्रायलमा सहभागी बिरामी साइड इफेक्ट देखिएपछि परीक्षण रोकिएको थियो। एस्ट्रजेनेकाले अन्तिम ट्रायल राकेको बिरामी देखिएका साइडक इफेक्टको कारण यही भ्याक्सिन हो वा होइन भन्नेबारे अनुसन्धान गरेको थियो। तर वैज्ञानिकहरुले अनुसन्धानपछि यो भ्याक्सिन पूर्ण रुपमा सुरक्षित निष्कर्ष निकालेका छन्। योसँगै अब यो भ्याक्सिनको अन्तिम ट्रायल पुनः सुचारु गरिने भ्याक्सिन निर्माता कम्पनी एस्ट्रजेनेकाले जनाएको छ।

बेलायतका स्वास्थ्य सचिव म्याट ह्यानककले ट्रायल फेरि सुरु हुने खबरको स्वागत गरेका छन्। ‘बिरामीमा समस्या देखिएपछि ट्रायल नै रोकिनुले वैज्ञानिकहरुले यो भ्याक्सिनको सुरक्षालाई प्राथमिकतामा राखेको प्रस्ट हुन्छ। उनीहरुको गम्भीरतालाई स्वागत गर्नैपर्छ।’

युनिभर्सिटीले एउटा बयान जारी गर्दै यस किसिमको ठूलो ट्रायलमा केही बिरामीमा समस्या देखिन सक्ने सम्भावना रहेको जनाएको छ। ‘तर हामी यो भ्याक्सिनको सुरक्षा प्राथमिकतामा निकै गम्भीर छौँ’, बयानमा भनिएको छ, ‘अब स्वतन्त्र सुरक्षा समीक्षा समिति र बेलायतको मेडिसिन एन्ड हेल्थकयर प्रोडक्ट्स रेगुलेटरी एजेन्सीको सिफारिसमा पुनः अन्तिम ट्रायल छिटै सुरु हुनेछ।’

युनिभर्सिटीले रोकिएको अन्तिम ट्रायल कहिलेबाट सुरु हुनेबारे भने मिति भने तोकिसकेको छैन। – एजेन्सी