काठमाण्डौ । सिद्धार्थ बैंकले कोरोना संक्रमित बिरामीहरुको उपचारका क्रममा देखिएको अक्सिजनको चरम अभाव मध्यनजर राखी, अक्सिजन उत्पादन गर्ने मेसिन तथा उपकरणहरुको खरीद तथा क्षमता बिस्तारका लागि इच्छुक अस्पताल तथा नर्सिङ्ग होमहरुलाई लक्षित गरी  सिद्धार्थ अक्सीजन लोन नामको पृथक योजना संचालनमा ल्याएको छ । 

बैंकले शनिवार सिद्धार्थ अक्सिजन लोन नामक सहुलियतपूर्ण विशेष कर्जा सुविधा संचलनमा ल्याइएको घोषणा गरेको हो ।

बैंकका अनुसार यस्तो कर्जाको विशेष आकर्षणको रुपमा कर्जा अवधिभर बैंकको आधार दरमा कर्जा प्रदान गरिने, सम्बन्धित संस्थाको नगद प्रवाहको आधारमा कर्जाको सहज भुक्तानी अवधि तय गरिने, अन्य कुनै पनि सेवा शुल्क नलाग्ने, उच्च प्राथमिकताका साथ कर्जा प्रोसेसिंग गरिने लगायतका रहेका छन् । 

यसरी प्रदान गरिएको कर्जामा, नेपाल राष्ट्र बैंकबाट सहुलियत प्रदान गरेको खण्डमा, नेपाल राष्ट्र बैंकले निर्दिस्ट गरेको सहुलियत कर्जा निर्देशिका अनुरुप हुने बैंकले जनाएको छ । 

सीमित अवधिका लागि ल्याईएको यस कर्जा सुविधाले हाल देशमा भइरहेका अक्सिजनको अभाव मेटाउन मद्दत पुर्याउँदै कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि विशेष भूमिका खेल्नेछ भन्ने विश्वास बैंकले लिएको छ । 

बैंकले यस आ.व. मात्र कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि सामाजिक उत्तरदायित्व अन्तर्गत रु १ करोड ४ लाख प्रदेश तथा स्थानीय सरकारलाई प्रदान समेत गरिसकेको छ ।