काठमाण्डौ । सेयर मूल्य बढाउने उद्देश्यले हकप्रदको सूचना चुहावटको आरोप व्यहोरेको अजोड इन्स्योरेन्सका संचालक र उच्चपदस्थ कर्मचारीहरुको व्यक्तिगत विवरण मगाएर धितोपत्र बोर्डले अनुसन्धान थालेको छ । 

अजोड इन्स्योरेन्सले ५० प्रतिशत हकप्रद प्रस्ताव गरेको निर्णय औपचारिक रुपमा बाहिरिनुअघि नै बजारमा चुहिएर कम्पनीको दोश्रो बजार मूल्यमा पोजिटिभ सर्किट लागेको थियो । निश्चित समूहसम्म पुगेको सूचनाले सर्वसाधारण लगानीकर्तालाई मर्का परेको र चलखेल भएको भन्दै सर्वत्र विरोध भएको थियो । 

लगानीकर्ताको तीव्र विरोधपछि नियामक बीमा समितिले ५० प्रतिशत हकप्रदको प्रस्ताव स्थगन गर्न निर्देशन दिएको थियो । सो निर्देशनपछि हकप्रदको प्रस्ताव स्थगन गरिएको निर्णयसहितको पत्र अजोडले धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेञ्जलाई पठाएको थियो । धितोपत्र बोर्डले पनि यो प्रकरणमा राम्रै चलखेल भएको हुनसक्ने आशंका गर्दै एक कमिटी नै बनाएर छानबिन थालेको थियो । 

बोर्डले गठन गरेको सोही कमिटीले अजोड इन्स्योरेन्ससँग सबै संचालक, उच्चपदस्थ कर्मचारीहरुको तीनपुस्ते विवरण मागेको हो । बोर्डलाई कम्पनीले मागिएका सबै व्यक्तिको तीनपुस्ते विवरण बुझाइसकेको स्रोतले बताएको छ । 

बोर्डले तीनपुस्ते विवरण मागे पनि त्यसबाट खासै केही फेला पर्न सकेको छैन । बोर्डसँग टेलिफोनको कल रेकर्ड हेर्ने अधिकार नभएका कारण अनुसन्धानमा समस्या भएको एक अधिकारीले बताए । 'यसका लागि हामीले प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआइबी)सँग सहकार्य गर्न सकिन्छ कि भनेर हेरिरहेका छौं ।' ती अधिकारीले भने-'कल रेकर्ड वा म्यासेजको हिस्टी हेर्न सकिने अवस्था बन्यो भने कोबाट फट्याई भयो, पत्ता लगाउन सहज हुन्छ ।'