काठमाण्डौ । अजोड इन्स्योरेन्स लिमिटेडको सेयरमूल्यमा हिजो सोमबार एकाएक सकारात्मक सर्किट लाग्यो। यो कम्पनीको सेयरमा खरिदचाप उच्च देखियो। 

त्यसो त कुनै पनि कम्पनीको सेयरमूल्यमा एकाएक उछाल आउनुको पछाडि आधिकारिक रुपमा कुनै सकारात्मक सूचना सार्वजनिक भएको हुनुपर्छ। जसका कारण लगानीकर्ता आकर्षित भएको देखिनुपर्छ।

तर, गत साताको अन्तिम कारोबारमा सेयरमूल्य घटेको अजोडको सेयरभाउमा हिजो एकाएक उछाल आउनुमा त्यस्तो कुनै आधिकारिक सूचना प्रकाशित वा सार्वजनिक भएको थिएन। 

केही बजार जानकारहरुले यो कम्पनीको सेयरमा इन्साइडर ट्रेडिङ भएको दाबी गरेका छन्। उनीहरुका अनुसार हिजै यो कम्पनीले ५० प्रतिशत हकप्रद निष्कासनको अजेन्डा आफ्नो वार्षिक साधारणसभाबाट पारित गर्ने सूचना चुहिएको थियो। हकप्रदको सूचना चुहाउँदै कम्पनीकै उच्च पदस्थ कर्मचारी तथा सञ्चालकहरुले हिजोको कारोबारमा इन्साइडर ट्रेडिङ गराएको भन्दै लगानीकर्ताहरुबाटै व्यापक विरोध भइरहेको छ। 

इन्साइडर ट्रेडिङ गराउनु गैरकानुनी मानिन्छ। तर नेपालको सेयर बजारमा खुलेआम यस्ता गतिविधि भइरहेका छन्। 

लगानीकर्ता केशव कोइरालाले फेसबुकमा पोस्ट गर्दै इन्साइडर ट्रेडिङ गराउने अजोडका कर्मचारी तथा पदाधिकारीहरुमाथि कारबाही गर्नुपर्ने र त्यसको नेतृत्व लगानीकर्ताका नेताहरुले गर्नुपर्ने सुझाव दिएका छन्। ‘तपाइँहरुको हिम्मत छ भने अगुवाइ गर्नुहोस्, हामी साथ दिन्छौँ’, उनले पोस्टमा उल्लेख गरेका छन्, ‘महानगरी प्रहरी प्रभागको सीआईबीमा छानबिनका लागि उजुरी दिनुपर्छ । धितोपत्र बोर्ड त सुतेको छ।’

अर्का लगानीकर्ता अनिल खतिवडाले पनि आफ्नो फेसबुक पेजमा अजोड इन्स्योरेन्समा इन्साइडर ट्रेडिङ भएको उल्लेख गरेका छन्। 

धितोपत्र कारोबार नियमावलीअनुसार कुनै पनि कम्पनीको मूल्यमा प्रभाव पार्ने सूचना अधिकारिक रुपमा त्यस्ता कम्पनीले कारोबार समयअघि पठाउनुपर्छ । तर यो कम्पनीका केही उच्च पदस्थ व्यक्तिहरुबाट वार्षिक साधारणसभाबाट सूचना प्रकाशित हुनुअगावै बजारमा ५० प्रतिशत हकप्रद आउन लागेको भन्दै सूचना चुहाएको स्रोतको दाबी छ। यही कारण हिजो यो कम्पनीको सेयरभाउ १० प्रतिशतले बढेको स्रोतको भनाइ छ। 

यो कम्पनीले आज मंगलबार आफ्नो तेस्रो वार्षिक साधारणसभाको सूचना प्रकाशित गरेको छ। जसमा कम्पनीले चुक्तापुँजीको ५० प्रतिशतले हकप्रद निष्कासनको अजेन्डा विशेष प्रस्तावमा राखेको छ।

अजोड इन्स्योरेन्सका सीईओ कुमारबहादुर खत्रीले कम्पनीको सेयरमा इन्साइडर ट्रेडिङ भएको विषयमा कुनै सत्यता नभएको दाबी गरेको छ। ‘सञ्चालक समितिको हिजोमात्रै बसेको बैठकले वार्षिक साधारणसभा र हकप्रदको अजेन्डा राख्ने निर्णय गरेको हो’, उनले भने, ‘बजारमा हकप्रदको सूचना चुहिएको भन्ने कुरा सत्य होइन।’

सीईओ खत्रीले बजारमा सेयर भाउ घट्ने र बढ्ने स्वाभाविक रहेको बताए। ‘हिजोको कारोबार किन सकारात्मक भयो यसबारे हामीलाई केही थाहा छैन’, उनले भने।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) का प्रवक्ता मुराहरि पराजुलीले अजोड इन्स्योरेन्सको सेयरमूल्यमा इन्साइडर ट्रेडिङ भएको भन्ने विषयमा कुनै आधारिक प्रमाण नरहेको बताउँछन्। ‘आधाकारिक प्रमाण नै नभएपछि नेप्सेले के गर्ने ? नेप्सेले कारबाही गर्न सक्दैन’, उनले भने, ‘बजार हल्ला चलेकै भरमा छानबिन गर्नुपर्छ भन्ने छैन। प्रमाण भएमात्र छानबिन प्रक्रिया अगाडि बढाउने हो।’