काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले अजोड इन्स्योरेन्स लिमिटेडको हकप्रदको सूचना चुहावट भएको भन्ने विषयमा अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ। 

धितोपत्र बोर्डले अजोड इन्स्योरेन्सको हकप्रद सेयर निष्कासन गर्ने सूचना सार्वजनिक हुनुअघि नै सेयरमूल्य वृद्धि भएको सम्बन्धमा विभिन्न सञ्चारमाध्यममा आएका समाचार र बोर्डमा प्राप्त गुनासा सम्बन्धमा अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जनाएको छ। हकप्रद सेयर निष्कासन गर्ने सूचना प्रकाशनअघि नै चुहावट भएको भन्ने विषयमा अनुसन्धान गर्न बोर्डले सोमबार निर्देशकको संयोजकत्वमा एउटा उपसमिति गठन गरी जाँजबुझ कार्य सुरु गरेको छ।

सूचना प्रकाशनअघि नै हकप्रद निष्कासन चुहावट भएको र कुनै भित्री कारोबार भएको पाइएमा नियमानुसार कारबाही अगाडि बढाइने पनि बोर्डका सहप्रवक्ता रुपेश केसीद्वारा विज्ञप्तिमा उल्लेख छ। 

अजोडले ५० प्रतिशत हकप्रद निष्कासनको अजेन्डासहित गत चैत १७ गते वार्षिक साधारणसभाको सूचना प्रकाशित गरेको थियो। तर अघिल्लो दिन नै अर्थात चैत १६ गते यो कम्पनीको सेयरमूल्यमा १० प्रतिशत वृद्धि भई पोजेटिभ सर्किट लागेको थियो। 

धितोपत्र बोर्डले गत चैत १८ गते नै उक्त दिन (चैत १६) अजोड इन्स्योरेन्सको सेयर कारोबारको अवस्था, प्रारम्भिक सुपरिवेक्षणमा देखिएको विवरण तथा कारोबारसम्बन्धी विवरण बोर्डमा पेस गर्न नेपाल स्टक एक्सचेन्जलाई पत्राचार गरिसकेको छ। 

त्यस्तै गत चैत १९ गते बोर्डले पत्र पठाउँदै अजोड इन्स्योरेन्सको हकप्रद सेयर निष्कासन गर्ने सूचना प्रकाशनअघि नै चैत १६ गते धितोपत्र कारोबारमा १० प्रतिशत वृद्धि भई सर्किैट लागेको भनी सो कारोबारसम्बन्धी विवरण बोर्डमा पेस गर्न पनि निर्देशन दिइसकेको छ।