काठमाण्डौ । अजोड इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ३८ करोड २८ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ। 

यो बीमा शुल्क अघिल्लो वर्षको सोही अवधिको तुलनामा २६.३८ प्रतिशतले बढी हो। अघिल्लो वर्ष कम्पनीको खुद बीमा शुल्क आर्जन ३० करोड २९ लाख रुपैयाँ थियो। 

समीक्षा अवधिमा कम्पनीले लगानी, कर्जा तथा अन्यबाट हुने आयबापत ३ करोड ६० लाखरुपैयाँ आर्जन गरेको छ। जुन अघिल्लो वर्षको तुलनामा ४.२७ प्रतिशतले बढी हो। अघिल्लो वर्ष यस्तो आय ३ करोड ४५ लाख रुपैयाँ रहेको थियो। 

यो अवधिमा कम्पनीको खुद दाबी भुक्तानी १०३.४७ प्रतिशतले बढेर १७ करोड ६० लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष कम्पनीले ८ करोड ६५ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो। 

कम्पनीकोे व्यवस्थापन खर्च १४.०३ प्रतिशतले बढेर २२ करोड ८६ लाख १७ हजार रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष व्यवस्थापन खर्च २० करोड ४ लाख ८३ हजार रुपैयाँमा सीमित थियो। 

समीक्षा अवधिमा कम्पनीले ९ करोड ५२ लाख ६८ हजार रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ। जुन अघिल्लो वर्षको तुलनामा ४९.७४ प्रतिशतले बढी हो। अघिल्लो वर्ष कम्पनीले ६ करोड ३६ लाख २० हजार रुपैयाँ नाफा आर्जन गरेको थियो। 

कम्पनीको बीमा कोषको आकार बढेर ११ करोड ७ हजार रुपैयाँ भएको छ। अघिल्लो वर्ष बीमा कोषमा ६ करोड २३ लाख रुपैयाँ रहेको थियो । कम्पनीको जगेडा तथा कोषको आकार ४ करोड ८० लाख रुपैयाँबाट बढेर ९ करोड ८ लाख ८९ हजार रुपैयाँको उचाइमा पुुगेको छ । 

यो अवधिमा कम्पनीले १ लाख २८ हजार १८४ वटा बीमालेख जारी गरेको छ। अघिल्लो वर्ष कम्पनीले ९१ हजार २२७ वटा बीमालेख जारी गरेको थियो। 

कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) ९.५२ रुपैयाँ रहेको छ। पीई रेसिया ८५.४० गुणा रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ १२१.१० रुपैयाँ रहेको छ।