काठमाण्डौ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले अटोमोबाइल क्षेत्रमा संलग्न व्यवसायी, कर्मचारी र मजदुरलाई कोभिड–१९ विरुद्धको भ्याक्सिन उपलब्ध गराउन सरकारसँग माग गरेको छ। 

नाडाले आज एक विज्ञप्ति जारी गर्दै यस्तो माग गरेको हो। ‘विश्वव्यापी रुपमा पुनः विश्वमा फैलिएको कोरोनाको दोस्रो लहरबाट जनताको स्वास्थ रक्षाका लागि सरकारले गत वैशाख १६ गतेदेखि जारी निषेधाज्ञा केही खुकुलो पार्दै लगेको छ’, विज्ञप्तिमा भनिएको छ, ‘सरकारले अटोमोबाइल वर्कशप, शो रुम तथा स्पेयर पार्टससमेत तोकिएको समयमा मात्र खुला हुनेगरी निर्देशिका जारी गरिसकेको छ, त्यसैले ती क्षेत्रमा कार्यरत व्यवसायी, कर्मचारी र विशेषगरी मजदुरका लागि भ्याक्सिन उपलब्ध नभएकोले तत्काल उपलब्ध गराउन अपिल गर्छौं।’

आफ्नो व्यवसायमा संलग्न भई आफ्नो कार्यमा लाग्नु उच्च जोखिम हुने भएकोले यस्तो विषम परिस्थितिमा अटोमोबाइल वर्कशप, शो रुम तथा स्पेयर पार्टस पसलहरुमा काम गर्ने व्यवसायी, कर्मचारी, टेक्निसियन र विशेषगरी ठूलो संख्यामा देशमा छरिएर रहेका श्रमिकका लागि कोभिडविरुद्धको भ्याक्सिन यथासक्य छिटो उपलब्ध गराइदिने व्यवस्था गरिदिन नाडाले सरकारसँग आग्रह गरेको छ।