काठमाण्डौ । पछिल्लो १८ घण्टाभित्र इटली र स्पेनमा कोरोना संक्रमणबाट ११६० भन्दा बढीले ज्यान गुमाएका छन् । 

विश्व स्वास्थ्य संगठनका अनुसार यो अवधिमा सबैभन्दा बढी इटलीमा ६६२ संक्रमितको मृत्यु भएको छ । 

स्पेनमा यही अवधिमा ४९८ संक्रमितले ज्यान गुमाएका छन् । 

यो १८ घण्टाको अवधिमा इटलीमा ६ हजार १००, स्पेनमा ६ हजार ६०० नयाँ संक्रमित फेला परेका छन् । 

हालसम्म इटलीमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ८० हजार ५ सय माथि पुगेको छ । कुल संक्रमितको संख्यामा इटली सबैभन्दा बढी संक्रमित फेला पर्ने चीनभन्दा केही पछि मात्र छ । चीनमा हालसम्म ८१ हजार २०० संक्रमित मात्र फेला परेका छन् । 

स्पेनमा कुल संक्रमित हुनेको संख्या ५६ हजार माथि पुगिसकेको छ । 

कुल संक्रमितमध्ये इटलीमा ३६०० बढी र स्पेनमा ३१०० बढीको अवस्था गम्भीर रहेको बताइएको छ । 

हालसम्म इटलीमा १० हजार ३६१ र स्पेनमा ७ हजार १५ संक्रमित निको भई घर फर्किएका छन् । 

स्पेन र इटलीको भयानक मानव विनाशसँगै हालसम्म विश्वभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २३ हजार माथि पुगेको छ भने संक्रमितको संख्या पनि ५ लाखभन्दा उकालो लागिसकेको छ । 

अन्य देशको अवस्था कस्तो छ ?
इटली र स्पेनबाहेक इरानको अवस्था समेत भयावह बनिरहेको छ । यहाँ पछिल्लो १८ घण्टाभित्र १५७ संक्रमितको मृत्यु भएको छ भने २३८९ नयाँ संक्रमित भेटिएका छन् । 

अमेरिकामा ५५ जनाले यो अवधिमा ज्यान गुमाएका छन् भने त्यहाँ ७ हजार नयाँ संक्रमित फेला परेका छन् । 

यो अवधिमा नेदरल्याण्डमा ७८, बेल्जियममा ४२, स्वीट्जरल्याण्डमा ३८, इण्डोनेशियामा २० संक्रमितको मृत्यु भएको छ । 

यो अठार घण्टाभित्र मात्रै विश्वभर ३९ हजार बढी नयाँ संक्रमित भेटिएका छन् । कुल संक्रमितमध्ये विश्वभर अझै १८ हजार बढी गम्भीर अवस्थामा छन् ।