काठमाण्डौ । गौतम अडानीलाई फेरि एकपटक ठूलो झट्का लागेको छ। 

अडानी समूहको मार्केट क्याप एकैदिनमा भारु ५० हजार करोडले घटेको हो। योसँगै गौतम अडानी पनि विश्वका धनीको सूचीमा तल झरेका छन्। 

अडानी समूहको सेयर बजारमा फेरि एकपटक गिरावट आएको छ। मंगलबार पनि अडानी समूहको सेयरमा गिरावट आएको थियो। अडानीका १० मध्ये ६ कम्पनीको सेयर ५ प्रतिशतले घटेर लोअर सर्किट लागेको थियो। 

अडानी समूहको प्रमुख कम्पनी अडानी इन्टरप्राइजेजको सेयर ७.१ प्रतिशतले घटेको छ। जसका कारण अडानी समूहको मार्केट क्याप भारु ५० हजार १६५ करोडले घटेको छ। यो एक महिनामा सबैभन्दा ठूलो गिरावटमध्ये एक हो।

अमेरिकी अनुसन्धान फर्म हिन्डनबर्ग रिसर्चको प्रतिवेदन बाहिरिएपछि अडानी समूहले ठूलो घाटा व्यहोर्नुपरेको थियो। गत जनवरी २४ मा हिन्डनबर्ग अनुसन्धानको रिपोर्ट आएको थियो। त्यसयता अडानी समूहका कम्पनीको सेयरमा लगातार गिरावट आएको थियो। 

केही समययता अडानी समूहको सेयर घट्ने प्रक्रिया रोकिएको थियो। फेरि गत सोमबारदेखि अडानी समूहको सेयरमा गिरावट आइरहेको छ। 

यसबैची विश्वका अर्बपतिको सूचीमा गौतम अडानी फेरि तल झरेका छन्। हिन्डनबर्ग प्रतिवेदनपछि सेयरमा लगातार गिरावट आएपछि अडानीको नेटवर्थमा धेरै नोक्सानी भएको थियो। जसका कारण गौतम अडानी विश्वका धनीहरुको सूचीमा शीर्ष ३० बाट बाहिरिएका थिए। 

हालै अडानी समूहको सेयरमूल्यको वृद्धिका कारण अडानी धनाढ्यको सूचीमा शीर्ष २० नजिक पुगेका थिए। अब फेरि एकपटक अडानी धनाढ्यको सूचीमा तल झरेर २४ औँ स्थानमा पुगेका छन्। –एजेन्सी