काठमाण्डौ । नेपाल सरकारले मंगलबारदेखि देशैभर पूर्ण लकडाउनको निर्णय गरेको छ । 

काठमाण्डौमा कोरोना भाइरसबाट संक्रमित एक युवती फेला परेसँगै बाँकी क्षेत्रमा समेत संक्रमण फैलन नदिन सरकारले कडा कदम चालेको हो । 

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा गठित उच्चस्तरीय सरकारी समितिको सोमबार सिंहदरबारमा बसेको बैठकले ८ वटा महत्वपूर्ण निर्णय गरेको छ ।

ती निर्णय यस्ता छन्:

१.औषधि उपचार, खाद्य वस्तु, खरीद जस्ता अत्यावश्यक काममा बाहेक कुनै पनि व्यक्ति घरबाहिर ननिस्कने
२.अनुमतिप्राप्त सवारी साधन, स्वास्थ्यकर्मी, सुरक्षा निकायले प्रयोग गर्ने बाहेक सबै प्रकारका सार्वजनिक वा निजी यात्रुबाहक सवारी साधन संचालनमा पूर्ण रोक लगाउने
३.सुरक्षा निकायबाट प्रयोग हुने बायुयान र तोकिएका अन्य उडानहरुबाहेक अन्य सबै आन्तरिक व्यवसायिक उडानहरु बन्द गर्ने
४.स्वास्थ्य, सुरक्षा, खाद्यवस्तु, खानेपानी, दूध, विद्युत, दूरसंचार, सूचना तथा संचार, भन्सार, क्वारेन्टाइन, फोहोरमैला, व्यवस्थापन जस्ता अति आवश्यक सेवा बाहेक अन्य कार्यालय संचालनका लागि आवश्यक पर्ने कर्मचारीहरु मात्र उपस्थित हुने व्यवस्था गरी अन्य कर्मचारीहरुलाई आवश्यक परेको बखत तत्काल उपस्थित हुने गरी सम्बन्धित कार्यालय प्रमुखले विदा दिने
५.औषधि तथा स्वास्थ्य उपकरण, खाद्यवस्तु, खानेपानी, दूध, इन्धन उत्पादन गर्ने उद्योगहरु बाहेक निजी क्षेत्रबाट संचालित अन्य उद्योग, कलकारखानामा काम गर्ने श्रमिक, कर्मचारीहरुलाई सम्बन्धित उद्योगले विदा दिने व्यवस्था मिलाउने
६.व्यवसायीहरुले औषधि र औषधिजन्य सामाग्रीहरुको नियमित आपूर्तिको व्यवस्था गर्ने । अभाव देखाई मूल्यवृद्धि गर्ने वा कालोबजारी, जम्माखोरी गर्ने वा लुकाउने वा आपूर्तिमा अवरोध गर्ने व्यक्तिलाई प्रचलित कानून बमोजिम नियन्त्रणमा लिने, सामाग्री जफत गरी रोगको रोकथाम र उपचारको कार्यमा उपयोग गर्ने
७.संक्रामक रोग ऐन २०२० को दफा २ को उफदफा(२) बमोजिम जारी यस आदेशको कार्यान्वयन गर्नका लागि आवश्यक व्यवस्था मिलाउन नेपाल राज्यका सबै प्रमुख जिल्ला अधिकारीहरुलाई मुकरर गर्ने र सोका लागि स्थानीय प्रशासन ऐन २०२८ को समेत आवश्यकता अनुसार प्रयोग गर्ने
८.संक्रामक रोग ऐन २०२० अन्तर्गत जारी आदेशको अपहेलना गर्ने वा काममा बाधा पुर्याउने व्यक्तिलाई सोही ऐन बमोजिम सजाय हुने