काठमाण्डौ । संघीय गठबन्धनको आन्दोलनको प्रभाव आइतबारको शेयर कारोबारमा पनि परेको छ । साताको पहिलो कारोबारको दिन शेयर बजारका अधिकांश सूचकहरु तल ओर्लिए । अन्य बेला बजारलाई माथि उकासिरहेका बिमा, वाणिज्य बैंक तथा विकास बैंक समूहका परिसूचक पनि तल झरे । तर धेरै शेयर कारोबार गर्ने मुख्य १० कम्पनीमा बिमा र वाणिज्य बैंकको दबदबा रह्यो ।  

समग्र बजार तल झरेका कारण नेप्से परिसूचक ४.५६ अंकले तल झर्दै १४७७.३८ अंकमा आइपुगेको छ । परिसूचकसँगै कारोबार रकम पनि घटेको छ । आइतबार १३२ कम्पनीका १० लाख ९२ हजार ६ सय ९ कित्ता शेयर कारोबार हुँदा बजारमा ७७ करोड ५९ लाख रुपैयाँ मात्र पूँजी परिचालन भयो । 

बिमा समूहको परिसूचक सबैभन्दा बढी ३३.५६ अंकले तल ओर्लियो । वाणिज्य बैंक समूहमा ७.३७ अंकको गिरावट आउँदा जलविद्युत समूहले पनि ७.१६ अंकको क्षति व्यहोर्यो । बित्त, होटल र विकास बैंक समूह क्रमशः ५.७४, ५.१२ र ३.६२ अंकले तल झरे । उत्पादनमूलक समूह स्थिर रहँदा अन्य समूहले भने १६.४४ अंकको उकालो यात्रा तय गर्यो । 

कारोबारको हिसाबले आइतबारको टप १० कम्पनीमा ६ वटा वाणिज्य बैंक र ४ वटा बिमा कम्पनी पर्न सफल भए । चालु आर्थिक वर्षको तेश्रो त्रैमासमा अपत्यारिलो नाफा गरेको प्रभू इन्स्योरेन्सको मात्रै ४ करोड ९ लाख रुपैयाँको शेयर किनबेच भयो । हिमालयन इन्स्योरेन्सले पनि ३ करोड ९२ लाख रुपैयाँ बराबरको कारोबार गर्यो । 

आइतबार सेन्सेटिभ र फ्लट इण्डेक्स पनि क्रमशः १.०९ र ०.२७ अंकले घटे ।