काठमाण्डौ । एशियन लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्ममा ३ अर्ब ९ करोड बढी बिमा शुल्क आर्जन गरेको छ । यो भनेको अघिल्लो वर्षको सोही अवधिको तुलनामा १६.८४ प्रतिशतले बढी हो । अघिल्लो वर्षको यही अवधिसम्म कम्पनीले २ अर्ब ६५ करोड बिमाशुल्क आर्जन गरेको थियो । 

कम्पनीका अन्य सूचकहरुमा पनि राम्रो प्रगति भएको देखिएको छ । 

समीक्षा अवधिमा कम्पनीले लगानी, कर्जा तथा अन्यबाट हुने आय बढाएर १ अर्ब १० करोडको उचाई चुमाएको छ । अघिल्लो वर्ष यस्तो आय ९२ करोड ९४ लाखमा सीमित थियो । 

यस्तै, अघिल्लो वर्ष यही अवधिसम्म ३ करोड ५२ लाख रुपैयँ रहेको बिमालेखको धितोमा कर्जाबाट हुने आय बढाएर यो वर्ष ७ करोड ३२ लाख पुर्याएको छ । 

अन्य प्रत्यक्ष आय पनि २ करोड ३ लाखबाट बढेर २ करोड ६३ लाखको उचाईमा पुगेको छ । 

समीक्षा अवधिमा एशियन लाइफ इन्स्योरेन्सले ४१ करोड ९७ लाखको दाबी भुक्तानी गरेको छ । अघिल्लो वर्ष यस्तो भुक्तानी २६ करोड ७९ लाखमा सीमित थियो । 

कम्पनीको नाफा भने उत्साहजनक ढंगले बढेको छ । अघिल्लो वर्ष यही अवधिसम्म ५ करोड ४४ लाखमा सीमित नाफा बढेर यो वर्ष १३ करोड ७ लाख पुगेको हो । यो भनेको नाफातर्फ १४०.२५ प्रतिशतको छलाङ मारेको हो । 

कम्पनीको जीवन बिमा कोषको आकार पनि २७.६० प्रतिशतले बढेको छ । अघिल्लो वर्षको यही अवधिसम्म १५ अर्ब ७८ करोड रुपैयाँ रहेको कोषको आकार बढी यो वर्ष २० अर्ब १४ करोड पुगेको छ । 

अघिल्लो वर्ष २८ करोड ३४ लाखमा सीमित रिजर्बको आकार बढी ४९ करोड ५९ लाख पुगेको छ भने ४ करोड २६लाखमा सीमित महाविपत्ति जगेडाको आकार समेत बढी ५ करोड ६१ लाख पुगेको छ। 

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी  १३.८७ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १२७.४६ रुपैयाँ, पीई अनुपात ३५.८४ गुणा र प्रतिसेयर कुल सम्पत्तिको मूल्य ११४९.८४ रुपैयाँ कायम भएको छ ।