काठमाण्डौ । कोरोना महामारीबीच पनि इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७६/७७ को चौथो त्रैमासमा सन्तोषजनक प्रगति गरेको छ।

संस्थाको सोमबार सार्वजनिक वित्तीय विवरणअनुसार समीक्षा अवधिमा संस्थाको खुद नाफा अघिल्लो वर्षको तुलनामा २६.४१ प्रतिशतले बढेर ४ करोड ७४ लाख रुपैयाँ पुगेको छ। जुन अघिल्लो वर्षको यही अवधिमा ३ करोड ७५ लाख रुपैयाँ रहेको थियो।

यो अवधिमा संस्थाको सञ्चालन मुनाफा ७ करोड ५२ लाख रुपैयाँ रहेको छ। जुन अघिल्लो वर्षको यही अवधिमा ५ करोड ९५ लाख रुपैयाँमा सीमित थियो।

समीक्षा अवधिमा संस्थाले खुद ब्याज आम्दानीबापत १५ करोड ५१ लाख रुपैयाँ आर्जन गरेको छ। अघिल्लो वर्ष खुद ब्याज आम्दानीबापत संस्थाले ९ करोड २३ लाख रुपैयाँ आर्जन गरेको थियो।

संस्थाले समीक्षा अवधिमा १ अर्ब १४ करोड रुपैयाँ सापटी लिई १ अर्ब ९५ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। अघिल्लो वर्ष यही अवधिमा संस्थाले ७९ करोड ६९ लाख रुपैयाँ निक्षेप संकलन गरी १ अर्ब ४६ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो। 

समीक्षा अवधिमा संस्थाले रिजर्भको आकार ८३.७९ प्रतिशतले बढाउँदै ७ करोड ८३ लाख रुपैयाँको उचाइमा पुर्याएको छ। जुन अघिल्लो वर्ष ४ करोड २६ लाख रुपैयाँमा सीमित थियो। 

संस्थाको चुक्तापुँजी बढेर समीक्षा अवधिमा २२ करोड ८१ लाख रुपैयाँ भएको छ। अघिल्लो वर्ष संस्थाको चुक्तापुँजी २० करोड ७४ लाख रुपैयाँ रहेको थियो।

संस्थाको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) २०.७९ रुपैयाँ रहेको छ। संस्थाको पीई रेसियो ३४.६२ गुणा र प्रतिसेयर नेटवर्थ १३४.३५ रुपैयाँ रहेको छ।