काठमाण्डौ । नेपालसँग खुल्ला सीमा जोडिएको सबैभन्दा नजिकको छिमेकी देश भारतका विभिन्न राज्यहरुमा कोरोनाका संक्रमणदर घट्न थालेको छ । 

त्यहाँका संचारमाध्यमहरुका अनुसार विभिन्न राज्यमा थपिने कोरोना संक्रमितको संख्या घट्दै गएको छ भने निको हुनेको संख्या बढ्दै गएको छ । यस्तै, कतिपय राज्यमा मृत्यु हुनेको संख्या समेत घटिरहेको छ । 

गएको २४ घण्टाको अवधिमा भारतमा ३ लाख ४२ हजार ८९६ कोरोना संक्रमित थपिएका छन् । यस क्रममा ३ हजार ९९७ संक्रमितको ज्यान गएको छ । 

नयाँ दिल्लीमा यो अवधिमा १४ हजार १४० संक्रमित अस्पतालबाट डिस्चार्ज भएका छन् । यहाँ अब कोरोनाका सक्रिय संक्रमितको संख्या ७१ हजारमा सीमित बन्न पुगेको छ । दिल्लीमा संक्रमणदर घटेर १२.४० प्रतिशतमा सीमित बन्न पुगेको छ । कोरोना संक्रमितको संख्यामा समेत उल्लेख्य गिरावट आइरहेको संचारमाध्यमहरुले जनाएका छन् । 

यस्तै, महाराष्टमा पनि कोरोना संक्रमित थपिने क्रम घटेको छ । यहाँ गत २४ घण्टामा ३९ हजार ९२३ नयाँ संक्रमित फेला परेका छन्, जब कि यो अवधिमा ५३ हजार २४९ संक्रमित डिस्चार्ज भएका छन् । यो अवधिमा सो क्षेत्रमा ६९५ संक्रमितको ज्यान गएको छ । यो क्षेत्रमा कुल संक्रमित ५३ लाख माथि पुगेका छन्, तीमध्ये ४७ लाख बढी डिस्चार्ज भइसकेका छन् । अहिले सक्रिय संक्रमितको संख्या ५ लाख १९ हजार हाराहारी मात्रै छ । 

उत्तरप्रदेश(यूपी)मा समेत कोरोना संक्रमितको संख्यामा लगातार कमी आइरहेको छ । यस्तै, निको हुनेको संख्या बढिरहेको छ । गत २४ घण्टामा यूपीमा १५ हजार ७४७ नयाँ संक्रमित फेला परे भने यही अवधिमा २६ हजार संक्रमितले कोरोनामाथि जित निकाले । यो प्रदेशमा हाल १ लाख ९३ हजार ८१५ सक्रिय संक्रमित छन् । 

यस्तै, नेपालको सबैभन्दा धेरै सीमा जोडिएको बिहारमा पछिल्लो २४ घण्टामा ७ हजार ४९४ संक्रमित थपिएका छन् । यो क्रममा १० हजारभन्दा बढी डिस्चार्ज भएका छन् भने ७७ व्यक्तिले ज्यान गुमाएका छन् । बिहारमा सक्रिय संक्रमितको संख्या ८९ हजार ५६३ रहेको छ । 

कर्नाटकमा ४१ हजार ७७९ संक्रमित पछिल्लो २४ घण्टामा थपिएका छन् । यो क्रममा ३६ हजार हाराहारीमा संक्रमित डिस्चार्ज भएका छन् । यो अवधिमा ३७३ व्यक्तिको ज्यान गएको छ भने यहाँ ५ लाख ९८ हजार ६०५ सक्रिय संक्रमित रहेका छन् । 

मध्यप्रदेशका मुख्यमन्त्री शिवराज चौहानलाई उद्धृत गर्दै मिडिया रिपोर्टहरुमा बताइएअनुसार सो क्षेत्रमा कोरोनाको संक्रमणदर घटाउन सरकार सफल भएको छ । २४ प्रतिशतसम्म पुगेको संक्रमणदर घटेर अब ११ प्रतिशतमा सीमित बन्न पुगेको चौहानले दाबी गरेका छन् । यस्तै संक्रमितको संख्या पनि क्रमशः घटिरहेको छ । मुख्यमन्त्री चौहानले संक्रमणलाई निस्तेज गर्नका लागि यसको चेन ब्रेक गर्नुपर्ने, संक्रमितको पहिचान गर्न ढिलाई गर्न नहुने, जाँचलाई तीव्र बनाउनुपर्ने, पहिचान भएका संक्रमितको समयमै उपचार गर्नुपर्ने र खोप अभियानलाई तीव्रता दिनुपर्ने गरी ५ प्राथमिकतामा जोड दिएका छन् । 

मध्यप्रदेशमा पछिल्लो २४ घण्टामा ८ हजार ८७ नयाँ संक्रमित थपिएका छन् भने यो अवधिमा ११ हजार ६७१ संक्रमित अस्पतालबाट डिस्चार्ज भएका छन् । 

यस्तै, राजस्थानमा गत २४ घण्टामा १४ हजार २८९ संक्रमित थपिएका छन् । यो क्रममा १३ हजार २७० संक्रमित डिस्चार्ज भएका छन् ।  २४ घण्टामा थप १५५ व्यक्तिको मृत्यु भएको छ । 

झारखण्ड लगायतका अन्य राज्यहरुमा समेत कोरोना संक्रमित थपिने संख्याभन्दा डिस्चार्ज हुनेको संख्या बढिरहेको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ । 

नेपालमा पनि उस्तै अवस्था
यसैबीच, नेपालमा समेत भारतका कतिपय राज्यको झै नयाँ संक्रमितको संख्या घट्न थालेको छ । डिस्चार्ज हुनेको संख्या क्रमशः र दैनिकजसो बढिरहेको छ । 

पछिल्लो २४ घण्टामा नेपालमा ८ हजार ४६७ नयाँ संक्रमित थपिएका छन् भने ६ हजार १३५ संक्रमित अस्पतालबाट डिस्चार्ज भएका छन् । यो अवधिमा २०३ संक्रमितको ज्यान गएको छ । 

हाल नेपालमा १ लाख ७ हजार ३३६ संक्रिय संक्रमित रहेका छन् । कुल ४ हजार ६६९ को मृत्यु भइसकेको छ ।