काठमाण्डौ । ग्लोबल आइएमई बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म अधिकांश वित्तीय सूचकमा सन्तोषजनक प्रदर्शन गरेको छ। 

आज सार्वजनिक अपरिष्कृत वित्तीय विवरणअनुसार समीक्षा अवधिसम्म बैंकले ४ अर्ब १२ करोड रुपैयाँ बढी खुद नाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्षको यही अवधिसम्मको तुलनामा ४१.८७ प्रतिशतले बढी हो। अघिल्लो वर्ष यही अवधिसम्म बैंकले २ अर्ब ९० करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

यो अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा २ अर्ब ७६ करोड रुपैयाँ रहेको छ। 

समीक्षा अवधिसम्म बैंकको सञ्चालन मुनाफा पनि ३८.०५ प्रतिशतले बढेको छ। अघिल्लो वर्ष सोही अवधिसम्म ४ अर्ब २४ करोड रुपैयाँ सञ्चालन मुनाफा समीक्षा अवधिसम्म बढेर ५ अर्ब ८६ करोड रुपैयाँ पुगेको छ।

चौथो त्रैमाससम्म बैंकले ९ अर्ब रुपैयाँ बढी खुद ब्याज आम्दानी गरेको छ। अघिल्लो वर्ष यस्तो आमदानी ८ अर्ब २२ करोड रुपैयाँमा सीमित थियो।

बैंकले २ खर्ब ६८ अर्ब रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब २८ अर्ब रुपैयाँ कर्जा परिचालन गरेको छ। अघिल्लो वर्ष बैंकले २ खर्ब १२ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ९० अर्ब रुपैयाँ कर्जा परिचालन गरेको थियो। समीक्षा अवधिमा बैंकको निक्षेप र कर्जा अघिल्लो वर्षको तुलनामा क्रमशः २६.४३ प्रतिशत र २०.२६ प्रतिशतले बढेको छ। 

बैंकको रिजर्भको आकार १२.१५ प्रतिशतले बढेर ११ अर्ब ५ करोड रुपैयाँको उचाइमा पुगेको छ। अघिल्लो वर्ष रिजर्भमा ९ अर्ब ८५ करोड रुपैयाँ रहेको थियो।

बैंकले निष्क्रिय कर्जा (एनपीएल) १.७६ प्रतिशतबाट घटाएर १.४२ प्रतिशतमा झार्न सफल भएको छ। सीसीडी रेसियो ७६.३१ प्रतिशत रहेको बैंकको आधार दर ६.६ प्रतिशत रहेको छ। 

बैंकको वार्षिकीकरण प्रतिसेयर आम्दानी (ईपीएस) बढेर १९.०८ रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष ईपीएस १७.९९ रुपैयाँ रहेको थियो। 

मूल्य आम्दानी अनुपात (पीई रेसियो) २३.१२ गुणा रहेको बैंको प्रतिसेयर नेटवर्थ १५१.११ रुपैयाँ रहेको छ।