काठमाण्डौ । बैंक तथा वित्तीय संस्थाहरुले मुद्दति निक्षेपको ब्याजदर बढाएर डबल डिजिटमा पुर्याएका छन्।

बैंक तथा वित्तीय संस्थाहरुले मंसिर १ गतेदेखि लागू हुने गरी आज निक्षेप र कर्जाको ब्याजदर सार्वजनिक गरेका छन्। जसअनुसार वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीले मुद्दति निक्षेपको ब्याजदर डबल डिजिटमा पुर्याएका हुन्। 

ब्याजदरका विषयमा सोमबार वाणिज्य बैंकहरुका सीईओहरुको बैठक बसेको थियो। बैठकमा सिंगल डिजिटमै मुद्दति निक्षेपको ब्याजदर राख्ने प्रयास असफल भएको थियो। 

वाणिज्य बैंकहरुबीच मुद्दति निक्षेपको अधिकतम ब्याजदर ९.७५ प्रतिशतसम्म कायम गर्ने विषयमा छलफल भएको थियो। तर, एकल अंकमै राख्दा विकास बैंक र वाणिज्य बैंकहरुबीचको ब्याजदरमा धेरै अन्तर हुने र वाणिज्य बैंकहरुमा आउने निक्षेप पनि विकास बैंकतिरै जाने सम्भावना देखिएपछि सीईओहरु डलब डिजिटमा ब्याजदर पुर्याउन सहमत भएका हुन्। 

अधिकांश वाणिज्य बैंकहरुको  मुद्दति निक्षेपको अधिकतम ब्याजदरमा १०.०५ प्रतिशतसम्म पुगेको छ। कात्तिकमा पनि बैंकले मुद्दति निक्षेपको ब्याजदर बढाउँदै ९.३६ प्रतिशतसम्म पुर्याएका थिए। 

नेपाल राष्ट्र बैंकले आइतबार निर्देशन जारी गर्दै बैंक तथा वित्तीय संस्थाहरुले वर्गअनुसार आफ्नो औसत ब्याजदरमा अधिकतममा जारी गरेको निर्देशनअनुसार अधिकांश वाणिज्य बैंकहरुले व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम १०.०५, संस्थागत मुद्दति निक्षेपमा ९.०५ र साधारण बचतमा ५.०५ प्रतिशतसम्म पुर्याएका छन्। 

नेपाल बंगलादेश बैंक, एनएमबि, सेन्चुरी, नेपाल एसबीआई, सनराइज, सिभिल, माछापुच्छ्रे, एनसीसी, हिमालयन, प्रभु, कृषि विकास, ग्लोबल आईएमई, नेपाल बैंक, प्राइम, लक्ष्मीलगायतका बैंकले ३ महिना माथिको व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर १०.०५ र संस्थागत मुद्दति निक्षेपको ब्याजदर ९.०५ प्रतिशत पुर्याएका छन्। 

यसैगरी वाणिज्य बैंक, मेगा बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंकलगायत केही बैंकले भने मुद्दति निक्षेपको ब्याजदर सिंगल डिजिटमै राखेका छन्। 

राष्ट्रिय वाणिज्य बैंकले ३ महिनामाथिको साधारण मुद्दति निक्षेपमा व्यक्तिगततर्फ ८.११ र संस्थागततर्फ ७.११ प्रतिशत ब्याजदर निर्धारण गरेको छ। विशेष मुद्दति निक्षेपमा भने बैंकले व्यक्तिगततर्फ ९.११ र संस्थागततर्फ ८.११ प्रतिशत ब्याजदर कायम गरेको छ।

मेगा बैंकले ३ महिनामाथिको मुद्दति निक्षेपमा व्यक्तिगततर्फ ९.९६ प्रतिशत र संस्थागततर्फ ८.९६ प्रतिशत ब्याजदर कायम गरेको छ। 

स्ट्यान्डर्ड चार्टर्ड बैंकले पनि व्यक्तिगततर्फ मुद्दति निक्षेपको अधिकतम ब्याजदर ९.५ र संस्थागततर्फ ८.५ प्रतिशत निर्धारण गरेको छ।

यसैगरी अधिकांश विकास बैंकहरुले भद्र सहमतिअनुसार नै ब्याजदर निर्धारण गेका छन्। जसअनुसार अधिकांश राष्ट्रिस्तरका विकास बैंकले ३ महिनामाथिको व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर १०.२५ प्रतिशत, संस्थागतको ९.२५ र सामान्य बचतको न्यूनतम ५.२५ प्रतिशत ब्याजदर निर्धारण गरेका छन्। क्षेत्रीयस्तरका अधिकांश विकास बैंकहरुले भने यस्तो ब्याजदर क्रमशः १०.३०, ९.३० र ५.३० प्रतिशत गरेका छन्। 

उता फाइनान्सहरुले ३ महिनामाथिको व्यक्तिगत मुद्दति निक्षेपमा १०.३५, संस्थागतमा ९.३५ र सामान्य बचतमा ५.३५ प्रतिशत ब्याजदर निधारण गरेका छन्।