काठमाण्डौ । सारथि लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा ८७ लाख ८८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । 

प्रथम वित्तीय विवरणअनुसार समीक्षा अवधिमा संस्थाले अघिल्लो वर्षको तुलनामा खुद नाफामा ६३७ प्रतिशतले वृद्धि गरेको हो । गत वर्ष यही अवधिमा संस्थाले ११ लाख ९२ हजार रुपैयाँमात्र खुद नाफा आर्जन गरेको थियो । 

प्रथम त्रैमासमा संस्थाको सञ्चालन मुनाफा ७२ लाख ३० हजार रुपैयाँ रहेको छ । गत वर्ष सञ्चालन मुनाफा ३ लाख ६३ हजार रुपैयाँ रहेको थियो । यसले संस्थाको व्यावसायिक विस्तार आक्रामक रहेको देखाउँछ । 

त्यस्तै संस्थाले खुद ब्याज आम्दानी १ करोड ३१ लाख रुपैयाँ गर्न सफल भएको छ । गत वर्ष ४३ लाख ७८ हजार रुपैयाँ रहेको थियो । 

समीक्षा अवधिमा संस्थाले २२ करोड २६ लाख रुपैयाँ निक्षेप संकलन गरी ८५ करोड २९ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । गत वर्ष यही अवधिमा संस्थाले ५ करोड ८६ रुपैयाँ निक्षेप संकलन गरी ३४ करोड ३ लाख रुपैयाँ कर्जा प्रवाह गरेको थियो । 

संस्थाले समीक्षा अवधिमा रिजर्भमा २ करोड ३९ लाख रुपैयाँ पुर्याएको छ । गत वर्ष यही अवधिमा संस्थाको रिजर्भ ऋणात्मक थियो । 
संस्थाको चुक्ता पुँजी ८ करोड १० लाख रुपैयाँ पुगेको छ । गत वर्ष यही अवधिमा संस्था चुक्ता पुँजी ७ करोड रुपैयाँ थियो ।