काठमाण्डौ । मेरो माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा अघिल्लो वर्षको तुलनामा ५५.९२ प्रतिशतले खुद नाफा बढाउन सफल भएको छ । 

प्रथम त्रैमास वित्तीय विवरणअनुसार समीक्षा अवधिमा संस्थाले ४ करोड २७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो वर्ष संस्थाले २ करोड ७४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । 

संस्थाको सञ्चालन मुनाफा भने प्रथम त्रैमासमा ५ करोड ७६ लाख रुपैयाँ रहेको छ । गत वर्ष सञ्चालन मुनाफा ४ करोड २५ लाख रुपैयाँ रहेको थियो । 
त्यस्तै संस्थाले खुद ब्याज आम्दानी ११ करोड ९७ लाख रुपैयाँ गर्न सफल भएको छ । गत वर्ष ७ करोड ९ लाख रुपैयाँ रहेको थियो । यसले संस्थाको व्यावसायिक विस्तार आक्रामक देखाउँछ ।

समीक्षा अवधिमा संस्थाले १ अर्ब ३१ करोड रुपैयाँ निक्षेप संकलन गरी ४ अर्ब ८८ करोड कर्जा प्रवाह गरेको छ । गत वर्ष यही अवधिमा संस्थाले ८४ करोड ९४ लाख रुपैयाँ निक्षेप संकलन गरी ३ अर्ब ६४ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो । 

संस्थाले समीक्षा अवधिमा रिजर्भको आकार ३०९ प्रतिशतले बढाएको छ । गत वर्ष १० करोड ४१ लाख रुपैयाँ रिजर्भमा यो वर्षको पहिलो त्रैमासमा बढेर ४२ करोड ६५ लाख रुपैयाँ पुगेको छ । 

संस्थाको चुक्ता पुँजी ६५ करोड ७८ लाख रुपैयाँ पुगेको छ । गत वर्ष यही अवधिमा संस्था चुक्ता पुँजी ३२ करोड ८९ लाख रुपैयाँ थियो । 

संस्थाको वार्षिकीकरण प्रतिसेयर आम्दानी २५.९८ रुपैयाँ रहेको छ भने प्रतिसेयर नेटवर्थ १६४.८४ रुपैयाँ पुगेको छ ।