काठमाण्डौ । पछिल्लो समय बैंकिङ प्रणालीमा अधिक तरलता (लगानीयोग्य रकम) एक्कासि घटेको छ। 

बैंक तथा वित्तीय संस्थामा केही समयपहिला झन्डै १ खर्ब रुपैयाँ अधिक तरलता थियो। अहिले अधिक तरलता जम्मा ४ अर्ब ६५ करोड रुपैयाँमात्रै रहेको नेपाल राष्ट्र बैंकका सहप्रवक्ता नारायणप्रसाद पोखरेलले जानकारी दिए। ‘अहिले अधिक तरलतामा चाप परेसँगै अन्तरबैंकिङ ब्याजदरमा पनि दबाब परेको छ’, उनले भने, ‘अहिले अन्तरबैंकिङ ब्याजदर ४.०१ प्रतिशत पुगेको छ।’

बैंकहरुको ब्याजदर तत्काल बढ्ने सम्भावना नरहेको सहप्रवक्ता पोखरेलको भनाइ छ। ‘राष्ट्र बैंकले बजारको अवस्था हेरेर चल्ने हुँदा अहिले नै आत्तिनुपर्दैन’, उनले भने।

सहप्रवक्ता पोखरेलले त्यसो भने पनि बैंक तथा वित्तीय क्षेत्रमा अधिक तरलताको अवस्था संकुचन देखिएको छ। यस कारणले राष्ट्र बैंकले बजारमा पैसा प्रवाहका लागि भने सोच्नुपर्ने अवस्था रहेको बजार सम्बद्ध जानकारहरु बताउँछन्।

हाल सीसीडी रेसियो ७७.८५ रहेको छ। बजार जानकार गोविन्दप्रसाद घिमिरले राष्ट्र बैंकले बजारबाट पैसा खिचेका कारण अधिक तरलताको संकुचन परेको तथा अन्तरबैंकिङ ब्याजदर पनि बढ्न पुगेकोले तरलता व्यवस्थापनका लागि पुनः बजारमा पैसा पठाउनुपर्ने तर्क गरे। बजारमा तरलता व्यवस्थापनको जिम्मा केन्द्रीय बैंकले नै गर्ने हुँदा ब्याजदरमा प्रभाव पर्ने काम अहिले गर्न नहुने घिमिरेले बताए। 

हाल बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप ४६ खर्ब ५८ अर्ब रुपैयाँ रहेको छ भने कर्जा परिचालन ४१ खर्ब ९९ अर्ब रुपैयाँ रहेको छ।