काठमाण्डौ । राष्ट्रिय वाणिज्य बैंकका सञ्चालक समितिबाट उपेन्द्रकुमार कोइरालाले बिहीबार राजीनामा दिएका छन्।

वाणिज्य बैंकको हिजो बसेको सञ्चालक समिति बैठकबाट कोइरालाले अर्थ मन्त्रालयलाई राजीनामा पत्र बुझाएका हुन्। 

गत भदौमा कोइरालालाई तत्कालीन अर्थमन्त्री युवराज खतिवडाले सञ्चालक समिति अध्यक्ष बनाउने गरी नियुक्त गरिएको थियो। तर अहिलेका अर्थमन्त्री विष्णु पौडेलले धनीराम शर्मालाई सञ्चालक समितिको अध्यक्ष बनाएका छन्। सोही कारण पनि कोइरालाले राजीनामा दिएको स्रोत बताउँछ। 

कोइराला रक्षामन्त्री ईश्वर पोखरेलका सम्धीसमेत हुन्। आफूलाई क्षमता, कौशलता, व्यवस्थापकीय ज्ञानका कारण तत्कालीन अर्थमन्त्री खतिवडाले विश्वास गरेको उनको भनाइ छ। ‘उहाँले जुन जिम्मेवारी दिन मलाई त्यहाँ लगिएको थियो, त्यसको औचित्य सकियो’, उनले भने, ‘त्यसैले राजीनामा दिएँ।’

कसैको विरोध वा पूर्वाग्रहप्रति आफ्नो राजीनामा लक्षित नरहेको पनि कोइरालाले स्पष्ट पारे। 

कोइरालाले विसं. २०५१ यता राजनीतिक नियुक्ति पाएको यो सातौँ पटक थियो। यसअघि उनी खाद्य संस्थानको महाप्रबन्धकदेखि, आयल निगमसम्म, क्याम्पस प्रमुखदेखि उपकुलपतिसम्म लगायतमा नियुक्ति भइसकेका थिए।