काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)को नयाँ इन्डेक्स ‘नेप्से–३०’ दसैँअघि सञ्चालनमा आउने सम्भावना क्षीण बन्दै गइरहेको छ।
नेप्से–३० साउनभित्रै सञ्चालनमा ल्याउने लक्ष्य नेप्सेले राखेको थियो। तर, भदौको तेस्रो साता बित्न लाग्दा पनि नेप्से–३० सञ्चालन आउने छाँटकाँट देखिँदैन।
नेप्सेका एक अधिकारीले नेप्सेका अध्यक्ष भुपाल बरालको व्यस्तताका कारण नेप्सेको सञ्चालक समिति (बोर्ड)को बैठक बस्न नसकेको बताए। ‘सञ्चालक समितिको बैठकले नेप्से–३० सञ्चालनमा ल्याउने मिति तय गर्ने हो तर अध्यक्षज्यू व्यस्त हुनुभएका कारण बैठक बस्न सकेको छैन’, ती अधिकारीले भने।
ती अधिकारीका अनुसार आगामी साता पनि नेप्से सञ्चालक समितिको बैठक बस्न सकेन भने नेप्से–३० दसैँअघि सञ्चालनमा ल्याउने सम्भावना कम हुनेछ। ‘नेप्से–३० सञ्चालनमा ल्याउने सबै प्रक्रिया हामीले पूरा गरिसकेका छौँ, हामी तयारी अवस्थामा छौँ’, ती अधिकारीले भने, ‘तर, सञ्चालक समितिको बैठक बस्न नसक्दा नेप्से–३० सञ्चालनको अजेन्डा अन्यौलमा परेको छ।’
केही समयअघि अध्यक्ष एवं अर्थ मन्त्रालयका सहसचिव बराल विदेश भ्रमणमा गएका थिए। जसका कारण लामो समयसम्म नेप्से सञ्चालक समितिको बैठक बस्न सकेको थिएन। ‘उहाँ नेपाल फर्किएर आउनुभए पनि मन्त्रालयतिरै व्यस्त हुनुहुन्छ’, ती अधिकारीले भने, ‘फेरि उहाँ विदेश भ्रमणमा जाँदै हुनुहुन्छ भन्ने सुनिएको छ। यदि अर्को साता पनि सञ्चालक समितिको बैठक बस्न सकेन भने नेप्से–३० तत्काल सञ्चालनमा आउने सम्भावना रहँदैन।’
त्यसो त नेप्सेले नेप्से–३०मा समावेश हुने ३० वटा कम्पनी छनौट गरी आन्तरिक परीक्षण सफलतापूर्वक सकिसकेको छ। धितोपत्र बोर्डले गत साउनको दोस्रो नै नेप्से–३० ल्याउन नेप्सेलाई ग्रिन सिग्नल दिएको थियो।
नेप्से–३० इन्डेक्सका लागि छनौट गरिएका ३० वटा कम्पनीको रियल टाइमको डाटा फिट गरेर इन्डेक्सको मुभमेन्ट हेर्ने काम भइसकेको छ।
सञ्चालक समितिले नेप्से–३० लन्च गर्ने मिति तय गरे पनि सञ्चालनमा ल्याउन भने केही दिन लाग्न सक्ने ती अधिकारीले बताए। ‘पहिले यो इन्डेक्स सञ्चालनबारे सबै सरोकारवालालाई जानकारी दिनुपर्छ’, ती अधिकारीले भने, ‘अनिमात्रै सञ्चालन ल्याउने तयारीमा नेप्से रहेको छ।’
37 minutes ago
1 hour ago
1 hour ago
1 hour ago
1 hour ago
2 hours ago
2 hours ago
3 hours ago
4 hours ago
4 hours ago