काठमाण्डौ । आध्यन्त फन्ड म्यानेजमेन्ट लिमिटेडले नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट नेपालमा लगानी कोष प्रबन्धकका रुपमा काम गर्ने गरी इजाजतपत्र प्राप्त गरेको छ।

सेबोनको विशिष्टीकृत लगानी कोष नियमावली, २०७५ अन्तर्गत प्राप्त उक्त इजाजतपत्रले कम्पनीलाई नेपालमा लगानी कोष स्थापना, व्यवस्थापन र प्रवर्द्धन गर्न अनुमति दिएको हो।

आध्यन्तले लगानीकर्ताका लागि एउटा वैकल्पिक लगानीका अवसर प्रदान गर्नुका साथै पुँजी र व्यावसायिक साझेदारीको खोजीमा रहेका उच्च वृद्धिको सम्भावना भएका व्यवसाय र नवीन उद्यमलाई पुँजीमा पहुँच प्रदान गर्नेछ।

आध्यन्तका संस्थापक मनोज पौडेलका अनुसार सेबोनले देखाएको यस नवीनतम तथा रुपान्तरणकारी सोचले निजी पुँजीको परिचालनमार्फत नेपालको आर्थिक समुन्नतिको सम्भावनालाई बलियो आधार प्रदान गर्नेछ। आगामी दिनमा नेपालको सम्भावना र आकांक्षालाई सघाउने खालका व्यवसाय र नवउद्यमहरुको स्तरवृद्धि गर्न निजी पुँजीलाई उद्देश्यपूर्ण रुपमा परिचालन गरी राष्ट्रिय पुँजीको विकास गर्ने लक्ष्य राखिएको उनले बताए। उनले भने, ‘हामी सन् २०३० सम्ममा दिगो विकासका लक्ष्य प्रप्तिको उद्देश्यसहित नेपाललाई मध्य आय भएको देशमा स्तरोन्नति गर्न प्राथमिकतामा रहेका क्षेत्रहरुलगायत उद्योग–व्यवसाय, पूर्वाधार, नवउद्यम, र अन्य क्षेत्रहरुमा लगानी परिचालन गर्नेछौँ।’

आध्यन्त नेपाली स्वामित्वको प्राइभेट इक्विटी एवम् भेन्चर क्यापिटल कोष सञ्चालक फर्म हो। जसको उद्देश्य उद्यमी र उद्यमहरुका लागि पुँजी परिचालनको नयाँ प्रणालीको सूत्रपात गर्ने हो। लगानीलाई पहुँचयोग्य बनाएर र संगठित रुपमा उद्यमीहरुलाई संलग्न गराएर, सँगै जोखिम वहन गर्ने र हरेक पाइलामा उनीहरूलाई सहयोग गरेर नेपाललाई दिगो विकासका लक्ष्यहरु प्राप्ति गरी मध्य आय भएको देशमा स्तरोन्नति गर्नेतर्फ सहयात्री बन्ने योजना यो कम्पनीले बनाएको छ।

राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक, सनराइज बैंक र लक्ष्मी बैंकजस्ता संस्थागत लगानीकर्ता र विभिन्न क्षेत्रका विज्ञद्वारा प्रवर्द्धित आध्यन्त नेपालमा पुँजी परिचालनमार्फत आर्थिक विकासका लागि सार्वजनिक–निजी  साझेदारीको उत्कृष्ट मोडेलका रूपमा स्थापना भएको छ।