काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से)ले संचालनमा ल्याएको अनलाइन कारोबार प्रणालीको भद्रगोलपूर्ण अवस्थामा कुनै सुधार हुन सकेको छैन । 

अनलाइन कारोबार प्रणाली कार्यान्वयनमा आएको एक वर्ष पूरा हुँदा समेत सामान्य भन्दा सामान्य समस्या व्यवस्थापनमा समेत नेतृत्वले चासो नदिएको देखिएको छ । 

अनलाइन कारोबार प्रणाली संचालनमा आएको एक वर्ष पूरा भएको अवसरमा नेप्सेले एक विज्ञप्ति जारी गर्दै अधिकांश समस्याहरु समाधान भइसकेको दाबी गरेको थियो । तर, त्यस्तो दाबीको केही दिनमै फेरि अनलाइन कारोबार प्रणालीले आफ्नो गाइजात्रे रुप देखाउन थालेको हो । 

यसले अनलाइन प्रणाली कारोबार आएको एक वर्ष बितिसक्दा समेत नेप्से आफ्नो सिस्टममा सुधार गर्न असफल बनेको पुष्टि गर्ने लगानीकर्ताहरु बताउँछन् ।

सुरुवातीदेखी नै भद्रगोल र गडबडी देखिएको नयाँ अनलाइन कारोबार सिस्टममा आज ट्रेडिङ मेनेजमेण्ट सिस्टम(टीएमएस)  र नेप्सेको वेबसाईटमा कारोबार रकम नै अन्तर देखिएको छ ।  टीएमएस रियल टाइम हुन्छ भने वेबसाईटमा देखाइने कारोबार एक मिनेटको अन्तरालमा हुन्छ । तर, यहाँ ठीक उल्टो टीएमएसमा कारोबार रकम कम र वेबसाइटमा भने बढी देखिन्छ । 

यसरी नेप्सेजस्तो आधिकारिक निकायले दिने सूचनामा त्रुटि भेटिदा बजारमा यसले सही सूचना नदिने प्रमाणित हुँदै गएको छ । सूचनामै गडबडी गरेर चलखेल गर्ने सेयर खेलाडीलाई नेप्सेले साथ दिएको एउटा सानो दृष्टान्त यो घटना समेत रहेको जानकार बताउँछन् ।  

नेप्सेको अनलाइन प्रणालीमा कुनै कम्पनीको सेयर अत्यधिक कारोबार हुने बित्तिकै सिस्टम डाउन हुन्छ, जुन आज मात्र हैन धेरै पटक भइसकेको छ । 

हिजोआज एनएमबी बैंकको अधिक कारोबार भएकाले समेत सिस्टमले धान्न नसकेर गडबडी भइरहेको लगानीकर्ता निरान्जन पाण्डे बताउँछन् । ‘हामी तथ्याङ्कअनुसार लगानी गर्ने मान्छेलाई नेप्सेले जहिल्यै भूलभूलैयामा पारिदिन्छ । यस्तो चलखेल कहिलेसम्म ? माथिल्लो निकायले नेप्सेको यस्तो फट्याईलाई किन नहेरेको ?’

नेप्सेले करोडौं बजेट सकेर लञ्च गरेको अनलाइन कारोबार प्रणालीप्रति लगानीकर्तामा विश्वास जगाउनुभन्दा दिनप्रतिदिन विकर्षण पैदा गरिरहेको छ । यसमा बजार र अनलाइन प्रणालीलाई भद्रगोल पारी आफैंले डमी लगानीकर्तामार्फत कुस्त कमाउने चाल रहेको स्रोतहरुले बताउँदै आएका छन् । 

नेप्से प्रमुख चन्द्रसिंह साउद लामो समयअघिदेखिका माहिर सेयर खेलाडी हुन् । उनी नेप्से प्रमुख भएर आएपछि सोझै आफ्नो नामबाट सेयर खरीदबिक्री गर्दैनन् । बरु डमी लगानीकर्तामार्फत उनले समेत पदीय आचरणविपरीत तीव्र चलखेल गरिरहँदा समेत अर्थमन्त्रालय र अन्य माथिल्ला निकाय मूकदर्शक बनेर बसेका र नेप्से नेतृत्वको यो गलत प्रवृतिकै कारण बजार झनै डामाडोल बनिरहेको लगानीकर्ताहरुको आरोप छ ।