काठमाण्डौ । प्रविधिको विकाससँगै विश्वमा अहिले अनलाइन ट्रेडिङ ट्रेन्ड बढ्दै गएको छ । घरमै बसेर मोबाइल वा कम्प्युटरमार्फत एक क्लिकको भरमा आफूलाई चाहिएको स्वदेशी तथा विदेशी ब्रान्डका वस्तुहरु आफ्नै घरदैलोमा मगाउन सकिन्छ ।
हिजोआज मानिसलाई आवश्यक वस्तुहरु छिटो र सहज तरिकाले उपलब्ध गराउने गतिलो माध्यम बनेको छ ‘अनलाइन सपिङ’ । नेपालमा पनि अनलाइन सपिङ गर्नेको संख्या दिनानुदिन बढ्दै गइरहेको छ । समय र पैसाको बचत, पसलेसँग गर्नुपर्ने मोलमोलाइको झन्झटबाट छुटकारा हुनुका साथै आफूले चाहेको ठाउँमै वस्तु उपलब्ध हुने भएकाले यसको चर्चा र प्रयोग गर्नेको संख्या बढ्दै गइरहेको छ ।
अनलाइन सपिङको महत्व धेरै भए पनि सही तरिकाले प्रयोग गर्न नजान्दा यसबाट निम्तने समस्याहरु झनै धेरै छन् । यसका साथै अनलाइन सपिङमार्फत ठगीको सिकार हुनेको संख्या पनि बढ्दैछ ।
अनलाइन सपिङ गर्दा तपाइँको एउटा गल्तीले तपाइँको पूरै बैंक खाता रित्तिन पनि सक्छ । त्यसैले अनलाइन सपिङको भुक्तानी गर्दा विशेष सावधानी अपनाउनुपर्दछ । यहाँ हामी तपाइँलाई त्यस्ता केही साना कमजोरीहरुका बारेमा बताउँदैछौँ । जुन अनलाइन सपिङ गर्दा उपभोक्ताले प्रायः बारम्बार दोहोर्याउने गरेका छन् ।
१. ठगी गर्ने नियतले कयौँ अनलाइन साइट खोलिएका हुँदा अनलाइन सपिङ गर्दा सधैँ विश्वसनीय र प्रतिष्ठित वेबसाइटका माध्यमबाटै गर्नुपर्दछ । यसो गर्दा तपाइँ सम्भावित ठगीको सिकार हुनबाट जोगिन सक्नुहुन्छ ।
२. तपाइँको ई–मेल बक्समा धेरै प्रकारका प्रोमोसनल मेल पनि आइरहेका हुन सक्छन् । यस्ता कुनै–कुनै मेलमा लिंक पनि पठाइएको हुन्छ । यस्ता लिंकमा नबुझीकन कहिल्यै पनि क्लिक गर्नुहुँदैन । यसको साटो ब्राउजरको एड्रेस बारमा यूआरएल टाइप गर्नुपर्दछ ।
३. कुनै पनि वेबसाइटमा आफ्नो केही जानकारी दिनुभन्दा पहिले त्यस वेबसाइटको यू्आरएल सधैँ जाँच्ने गर्नुपर्दछ । कयौँपटक वेबसाइटमा पपअप विइन्डो खुल्ने गर्दछ । यस्ता कुनै पनि प्रकारका पपअप विइन्डोमा आफ्नो गोपनीय खाताको जानकारीहरु जस्तै क्रेडिट कार्ड नम्बर, एक्सपायरी डेटजस्ता अन्य जानकारी कहिल्यै दिनु हुँदैन ।
४. यदि तपाइँ निरन्तर रुपमा अनलाइन सपिङ गर्नुहुन्छ भने भेरीफाई बाई भिजा तथा मास्टर कार्ड सुरक्षित कोड प्रोग्रामका लागि साइनअप गर्नुहोस् । मास्टर तथा भिजा कार्डको सेक्युरिटी कोर्डको साटो मोबाइल फोनमा आउने वान टाइम पासवर्ड प्रगोग गर्नुस् । किनकि वान टाइम पासवर्ड धरै नै सुरक्षित हुने गर्दछ ।
५. नियमित रुपमा आफ्नो खाताका बारेमा अपटेड भइरहनुपर्छ । यसो गर्दा खातामा भएको बदमासी र हुन सक्ने थप क्षतिबाट बच्न सकिन्छ ।
६. कुनै पनि वेबसाइटमा लेनदेन गर्नुभन्दा पहिले वेबपेजमा प्याड लक सिम्बोल जाँच गर्नुपर्दछ । अनलाइन सपिङ साइटमा जानका लागि ई–मेल तथा रेफरल वेबसाइटको सहारा लिनु हुँदैन । एड्रेस बारमा सधैँ यूआरएल टाइप गर्नुुपर्दछ । – एजेन्सी
10 hours ago
10 hours ago
10 hours ago
10 hours ago
14 hours ago
16 hours ago
16 hours ago
16 hours ago
16 hours ago
16 hours ago