काठमाण्डौ । सेयर बजारका लगानीकर्ता शिव घिमिरेको डिसेम्बरको पहिलो साता शिवम सिमेन्टको सेयर डीपी होल्डिङ भन्दा १७४ कित्ता धेरै बिक्री भयो। यस्तै हिजो बुधबार केशव कोइरालाले सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडको सेयर आफ्नो डीपी होल्डिङ भन्दा १ हजार कित्ता बढी बिक्री गर्न आदेश दिँदा सिस्टमले स्वीकार गर्यो, तर मूल्य उच्च भएकाले म्याचिङ भने भएन । कोइरालाको टीएमएसमा उक्त कम्पनीको सेयर ऋणात्मक नै पनि देखियो । 

घिमिरे र कोइरालाकोजस्ता धेरै लगानीकर्ताहरुको तीतो भोगाइ अहिले बढ्दै गइरहेको छ । टीएमएसमा डीपी होल्डिङभन्दा पनि धेरै सेयर बिक्री हुने घटना पछिल्लो समय बढ्न थालेका छन् । 

अहिले डीपी होल्डिङमा मात्र भएको सेयर बिक्री हुन्छ भन्नु व्यर्थ छ । यही लुपहोललाई आधार बनाएर नै चलाख र बाठा लगानीकर्ताहरुले धमाधम सर्टसेल मात्रै गरेका छैनन्, बजारमा उत्तारचढाव गर्न सिस्टमको लुपहोललाई निकै बलियो आधार पनि बनाएका छन् । 

यो कमजोरीको विषयमा अनलाइन कारोबार प्रणालीको सिस्टम निर्माता वाइको प्रालिले समेत स्वीकार गरिसकेको छ । एकै कम्पनीको दिनहुँ कारोबार गरे सिस्टमले राम्ररी अध्ययन गर्न नसक्ने भएकाले नै डीपी होल्डिङभन्दा बढी बिक्री हुने वाइकोले जनाएको छ।

सेयर किनबेच भइसकेपछि किन्नेले सेयर पाउनुपर्छ भन्ने विश्वव्यापी स्टक मार्केटको सिद्धान्त हो । सिस्टममा भएको लुपहोललाई निस्तेज गर्न र चलखेललाई नियन्त्रण गर्नका लागि भने अक्सन मार्केट एउटा समाधान हुनसक्छ । नेपाल स्टक एक्सचेञ्जले धितोपत्र कारोबार सञ्चालन विनियमवली,२०७५ लागू गरिसकेको अवस्था छ । धितोपत्र कारोबार सञ्चालन विनियमावली, २०७५ को परिच्छेद ६ मा अक्सन कारोबार सञ्चालन सम्बन्धी स्पष्ट व्यवस्था समेत गरेको छ, तर हालसम्म पनि यो कार्यान्वयनमा आउन सकिरहेको छैन ।

 नियमावलीमा भएको व्यवस्थाअनुसार नेप्सेले कारोबार सदस्यको उपस्थितिमा बोलकबोल माध्यम वा कारोबार प्रणाली मार्फत अक्सन कारोबार संचालन गर्न सक्नेछ ।  कारोबार र राफसाफ प्रणालीमा हुनसक्ने प्राविधिक त्रुटि वा त्यस्तै अन्य कारणले धितोपत्र बिक्रीकर्ताको मौज्दातमा धितोपत्र उपलब्ध हुन नसकेमा नेप्सेले अक्सन कारोबारमार्फत धितोपत्रको राफसाफ गर्नसक्ने व्यवस्था छ । यसबाट क्लोजआउटको समस्या हल भई लगानीकर्ताहरुलाई राहत हुने त देखिन्छ नै नेप्से स्वयम्को आम्दानीमा समेत राम्रै वृद्धि हुनेछ ।

प्रणालीमा भएका लुपहोललाई निस्तेज गर्न नेपाल स्टक एक्सचेञ्जले नेपाल धितोपत्र बोर्डलाई अक्सन मार्केट सञ्चालनार्थ स्वीकृतिका लागि आग्रह गरेकोमा धितोपत्र बोर्डले ठाडै अस्वीकार गरेको नेप्सेका एक अधिकारीले खुलासा गरे । 

यता नेप्सेले अक्सन मार्केट सञ्चालनका लागि विनियमावली लागू गर्नेदेखि अक्सन मार्केट सञ्चालनका निम्ति सिस्टमसमेत तयारी अवस्थामा रहेको जनाएको छ । सीडीएससीको सफ्टवेयर बनाउन भने धितोपत्र बोर्डकै अनुमति चाहिने भएकाले त्यो भने बनाउन बाँकी छ । 

नेपाल धितोपत्र बोर्डले सर्ट सेलको व्यवस्था नभएको तर्क राख्दै नेप्से र सीडीएससीलाई अनुमति नदिएको नेप्सेस्थित एक अधिकारी बताउँछन् ।

अक्सन मार्केट आवश्यकतामा नेप्सेका अधिकारीहरु जोड दिन्छन् । हालको अनलाइन प्रणालीले समेत सर्टसेल चेक गर्न नसक्ने नेप्सेका एक अधिकारी बताउँछन् । कुनै एक कम्पनीको दैनिक किनबेच गरेमा सिस्टमले चेक गर्नै नसक्ने ती अधिकारी बताउँछन् । सोही कम्पनीको खरिदबिक्रीमा सर्टसेल हाल पनि भइरहेको स्वीकार गर्दै प्राविधिक रुपमा सर्टसेल चेक गर्न सम्भव नरहेको ती अधिकारी बताउँछन् । 

ब्रोकरले समेत अब जोखिम व्यवस्थापन प्रणाली अवलम्बन गर्न आवश्यक भइसकेको नेप्सेका एक अधिकारी सुझाउँछन् । ब्रोकरले आफ्ना ग्राहकका डीपीसँग सम्झौता नै गरेर चेक गर्ने प्रणाली सुरु गर्ने बेला भइसकेको र पीओए(पावर अफ अथरिटी) लिइनुपर्ने ती अधिकारीको भनाइ छ । अहिलेको मोडल अत्यन्तै जोखिम छ, यसले ब्रोकरहरुलाई सबैभन्दा बढी जोखिम पर्नसक्ने देखिन्छ । ती अधिकारीले भने । 

सर्टसेलिङको व्यवस्था नभएको ठाउँमा समेत संसारभरका स्टक एक्सचेञ्जहरुले अक्सन मार्केट चलाइरहेको जानकारहरु दाबी गर्छन् । नियतवश नेपालमा पनि सेयर बिक्रीपश्चात सेयर इडीआइएस नगरी सेयर हस्तान्तरण नगर्न सक्ने पूर्ण अधिकार लगानीकर्तामा भएकाले अक्सन मार्केट अति आवश्यक रहेको जानकारहरु बताउँछन् । 

एक ब्रोकरकाअनुसार बजार बढ्दो क्रममा छ र सो सेयरको मूल्य बढिरहेको भएमा सेयर बिक्रीपश्चात लगानीकर्ताले इडीआइएस नगर्ने र फोन अफ गरी भाग्ने चलन रहेको छ । त्यसपछि अर्को ब्रोकरकहाँ गई केवाइसी खोली अर्कै ब्रोकरमार्फत सेयर बिक्री गर्ने प्रवृतिले समेत बढ्दै गएकोमा यसलाई नियन्त्रण गर्न अक्सन मार्केटको व्यवस्था हुनुपर्नेमा ती ब्रोकर जोड दिन्छन् ।