काठमाण्डौ । मेगा बैंकबाट अनुपमा खुञ्जेली बाहिरिएकी छन्।

मेगा बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) बाट अनुपमा खुञ्जेलीले राजीनामा दिएकी हुन्। कार्यकाल सकिन केही दिनमात्रै बाँकी रहँदा खुञ्जेलीले सीईओबाट राजीनामा दिएकी हुन्। उनी आज शुक्रबारैबाट राजीनामा दिएर बिदा बसेकी छन्। 

बैंक सञ्चालक समितिले भने खुञ्जेलीको राजीनामा स्वीकृति गरिसकेको छैन। यद्यपि सञ्चालक समितिले पनि खुञ्जेलीलाई दोस्रो कार्यकालका लागि दोहोर्याउने पक्षमा नरहेको स्रोत बताउँछन्। ‘सञ्चालक समितिले दोस्रो कार्यकालका लागि आफूलाई सीईओमा नियुक्ति नगर्ने थाहा पाएरै खुञ्जेलीको राजीनामा आएको हुन सक्छ’, स्रोतले भन्यो। 

खुञ्जेली २०७४ चैत ३० मा मेगा बैंकको सीईओमा नियुक्त भएकी थिइन्। उनको कार्यकाल यही चैत २९ गते सकिँदै थियो।

खुञ्जेली निजी क्षेत्रको वाणिज्य बैंकमा पहिलो महिला सीईओ पनि हुन्। उनको नेतृत्वमा गण्डकी विकास बैंक गाभिएको थियो। उनले तत्कालीन ग्रिन्डलेज, स्ट्यान्डर्ड चार्टर्ड र नबिल बैंकमा पनि काम गरेकी थिइन्। 

मेगा बैंकका अध्यक्ष भोजबहादुर शाहले आफूलाई खुञ्जेलीको राजीनामाका विषयमा कुनै जानकारी नभएको बताए। ‘उहाँले बिदा लिनुभएको छ। मैले बिदाको स्वीकृति दिएको छु। तर, राजीनामा दिएको विषयमा मलाई कुनै जानकारी छैन।’

यसैबीच सञ्चालक समितिले सीईओमा बाहिरबाट नभई मेगा बैंकभित्रकै व्यक्तिलाई नियुक्त गर्ने प्रबल सम्भावना रहेको बैंक स्रोत बताउँछन्। ‘डेपुटी सीईओ रविना देशराज श्रेष्ठलाई सीईओको जिम्मेवारी दिने सम्भावना अत्याधिक छ’, स्रोतले भन्यो, ‘श्रेष्ठ सञ्चालकहरुबाट रुचाइएकी व्यक्ति हुन्, उनको सीईओ बन्ने सम्भावना धेरै छ।’

यदि श्रेष्ठ मेगा बैंकको सीईओमा नियुक्त भइन् भने उनी वाणिज्य बैंकहरुमा दोस्रो महिला सीईओ हुने छिन्।

खुञ्जेली बाहिरिएसँगै मेगा बैंकमा अनिल केशरी शाह सीईओ भएर आउन सक्ने आँकलन पनि धेरैको छ। ‘शाहको नबिल बैंकमा कार्यकाल सकिँदैछ, नबिलमा पनि उनको कार्यकाल थपिने सम्भावना छैन’, स्रोतले भने, ‘त्यसैले ६ महिनाको कुलिङ पिरियडपछि शाहको मेगा बैंकमा प्रवेशको सम्भावना पनि उत्तिकै छ।’

यसअघि पनि शाहले मेगा बैंकमा सीईओका रुपमा काम गरेका थिए। मेगा बैंक छाडेपछि उनी नबिल प्रवेश गरेका थिए।