काठमाण्डौ । नेपाल पर्यटन बोर्डले नवनियुक्त संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेलाई पर्यटन बोर्डमा स्वागत गरेको छ। 

कार्यक्रममा मन्त्रालयका सचिव तथा बोर्डका अध्यक्ष यादव प्रसाद कोइराला र बोर्डका कार्यकारी प्रमुख डा.धनन्जय रेग्मीले मन्त्री आलेलाई स्वागत गरेका थिए। 

कार्यक्रममा मन्त्री आलेले कोभिडको कारण नेपालको पर्यटन उद्योगले ठूलो क्षति व्यहोर्नुपरेकोले यसबाट बाहिर आउन सबै मिलेर काम गर्नुपर्ने आवश्यकता रहेको बताए। उनले आफ्नो सबै ध्यान पर्यटन क्षेत्रले भोगेका समस्या समाधान गर्दै पर्यटनलाई चलायमान बनाउनमा केन्द्रित हुने बताए। ‘म यस क्षेत्रमा देखिएका समस्या र विकृतिप्रति जानकार छु। यी समस्याहरुको समाधान गर्न नै म यो मन्त्रलायमा आएको हुँ’, उनले भने, ‘व्यवसायीहरुले अनुभूति गर्ने गरी यस क्षेत्रको विकासमा काम गर्ने मेरो प्रतिबद्धता हो। यसमा सबै व्यवसायीहरु निजी क्षेत्रको सहयोग लिएर काम गर्ने छु।’ 

मन्त्री आलेले नेपालको पर्यटन प्रवर्द्धनका लागि नेपाल वायुसेवा निगम बलियो, प्रतिस्पर्धी र समयसापेक्ष बनाउन आवश्यक रहेको र सोहीअनुरुप काम अघि बढाइएको समेत बताए। 

कार्यक्रममा मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले व्यवसायीहरुका काम सहजीकरण र माग सम्बोधन गर्न मन्त्रालय सधैँ तयार रहको बताए। उनले नेपालमा पर्यटनको अथाह सम्भावना रहे पनि त्यसको समुचित उपयोग गर्न नसकिरहेको उल्लेख गर्दै मन्त्रालयले नीतिगत सुधारको काम गर्ने र लगानी भित्र्याउन निजी क्षेत्र अग्रसर हुन आग्रह गरे। 

यस्तै बोर्ड सदस्य पम्फा धमलाले कोभिडले गर्दा पर्यटन बोर्डको आय घटेको र यसले गर्दा आवश्यक काम गर्ने अवस्थासमेत नरहेकोले अहिलेलाई सरकारको सहयोग आवश्यक रहको बताए। 

कार्यक्रम बोर्डका कार्यकारी प्रमुख डा. धनन्जय रेग्मीले पर्यटन क्षेत्रको विकासका लागि केही नीतिगत सुधार र पूर्वाधार विकास आवश्यक रहेको बताउँदै त्यसका लागि मन्त्रीले पहल गरिदिन आग्रह गरे। उनले नेपाललाई सबै उमेर समुह र सबै सिजनको पर्यटकीय गन्तव्य बनाउन सकिने पर्याप्त आधार रहेको उल्लेख गर्दै यसका लागि अन्तर मन्त्रालय समन्वय र पर्यटन मैत्री कानून आवश्यक भएको बताए। 

कार्यक्रमा निजी क्षेत्रका संस्थामहरु होटल संघ नेपाल (हान) का अध्यक्ष सृजना राणा, नेपाल एशोसिएशन अफ टुर एण्ड ट्रावल एजेन्टस् (नाटा) का अध्यक्ष अच्युत गुरागाई, टे«किङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान) का अध्यक्ष खुम बहादुर सुवेदी, नेपाल एशोसिएशन अफ राफ्टिङ एजेन्ट्स (नारा) का अध्यक्ष गंगा प्रसाद नेपालले कोभिडले थलिएको पर्यटनलाई लयमा फर्काउन मन्त्रालयको विशेष पहल, साथ र सहयोग आवश्यक रहेको धारणा राखे। उउनीहरुले त्यसका लागि यसअघि भएका निर्णयहरुको सही कार्यान्वयन र केही नयाँ पर्यटन मैत्री निर्णय गर्न मन्त्रीलाई आग्रहसमेत गरे।