काठमाण्डौ । सत्ताधारी दल नेपाल कम्युनिष्ट पार्टी(नेकपा) अन्ततः फूट नजिक पुगेको छ । पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड)सँगको भेटमा अब सँगै बस्न नसकिने, बरु अलग अलग भएर जानुपर्ने प्रस्ताव गरेको खुलासा भएसँगै पार्टी फूटनजिक पुगेको देखिएको हो । 

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री हटाउने गरी भएको चलखेलपछि पार्टीका दुई अध्यक्षबीच तिक्तता सुरु भएको थियो । सो तिक्ततालाई मलजल गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको सचिवालय र स्थायी कमिटीमा भएको सहमतिविपरीतका नियुक्ति र निर्णयहरु एकलौटी ढंगले गरेका अर्को पक्षले आरोप लगाउँदै गयो । बढिरहेको तिक्तताको आगोमा घ्यू थप्दै शंकास्पद ढंगले भारतको गुप्तचर संस्था रअको प्रमुखलाई पार्टीलाई जानकारी नदिई ओलीले भेट गरेपछि अवस्था झनै तनावपूर्ण बन्न थालेको थियो । 

तनावकै बीच दुई अध्यक्षको तिक्तता कम गराउने उद्देश्यले पार्टीका दोश्रो तहका नेताहरु सक्रिय बनेका थिए । उनीहरु सक्रिय भएपछि ११ दिनसम्मको दुई अध्यक्षबीचको संवादहीनताको अवस्था शनिवार अन्त भएको थियो । अर्थात, शनिवार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा केपी ओली र प्रचण्डबीच भेटवार्ता भएको थियो । 

सो भेटले दुई अध्यक्षबीच सहमति बन्नसक्ने आँकलन गरिए पनि अवस्था उल्टो बन्यो । भेटमा दुवैले आफ्नो आफ्नो अडान छाडेनन् । प्रचण्डले पार्टी सचिवालय बैठक बोलाएर विवादित विषयहरुलाई टुंगोमा पुर्याउनुपर्ने प्रस्ताव गरे भने ओलीले त्यसको ठाडै प्रतिवाद गरेका प्रचण्डले आइतबार आफ्नै निवास खुमलटारमा आफू निकटका सचिवालय सदस्यलाई बोलाएर सुनाएका छन् । 

'ओलीजीले पार्टीको दुईतिहाई बहुमतले भनेको विषय समेत आफूले नमान्ने, कुनै पनि निर्णय नमान्ने भन्नुभयो ।' प्रचण्डले खुमलटारमा भेला भएका सचिवालय सदस्यहरुको बैठकमा भनेको कुरा उद्धृत गर्दै एक सदस्यले भने-'सँगै अगाडि बढ्न सकिन्न भने हामी अब अलग अलग हिँड्नुपर्छ । म त्यसका लागि तयार छु ।' 

प्रचण्डले खुमलटारमा बोलाएको बैठकमा पार्टी सचिवालय सदस्यहरु माधवकुमार नेपाल, झलनाथ खनाल, बामदेव गौतम, नारायणकाजी श्रेष्ठ(प्रकाश), रामबहादुर थापा(बादल)को सहभागिता थियो । ९ सदस्यीय पार्टी सचिवालयमा बहुमत सदस्य प्रचण्ड नेपालको पक्षमा छन् । सचिवालयलाई फेस गर्न कठीन देखेका ओलीले पार्टी फुटाएरै जाने मनशायसहित प्रचण्डसँग सम्बन्ध शनिवारको संवादको क्रममा झनै बिग्रिने गरी प्रस्तुत भएका स्रोत दाबी गर्छ । 

दुई अध्यक्षबीचको तिक्तता शनिवारको बैठकबाट झनै बढेपछि पार्टी एकतालाई जोगाउने र प्रचण्ड ओलीलाई मिलाउन अनवरत लागेका महासचिव विष्णु पौडेलले पनि आइतबार नै पार्टी एकता गम्भीर संकटमा परेको सामाजिक सञ्जालमार्फत चिन्ता व्यक्त गरेका छन् । मिलाउने व्यक्तिले नै थाकेको शैलीमा पार्टी एकता गम्भीर संकटमा परेको बताएपछि अवस्था निकै जटिल बनेको र तत्कालीन एमाले र माओवादीबीच भएको एकता अब टुट्ने प्रवल संभावना देखिएको स्रोतहरु बताउँछन् ।

अन्तिम अवस्थासम्म पनि पार्टी एकतालाई जोगाउनुपर्ने भन्दै प्रचण्ड निवासमा भेला भएका नेताहरुले पार्टी फुटाउन नहुने विषयमा प्रचण्डलाई पनि सचेत गराएका स्रोत बताउँछ । अन्तिम पटक पार्टी एकतालाई अक्षुण राख्नका लागि भएभरको शक्ति लगाएर प्रयास गर्ने सहमति समेत खुमलटार बैठकमा भएको नेताहरुले बताएका छन् ।  

यसअघि प्रकाशित समाचारहरु:

-नेकपामा गम्भीर संकट, पार्टी फुट्नै लागेको हो ?