काठमाण्डौ । अन्ततः कोरोनाभाइरस हावाबाट पनि फैलिन सक्ने प्रमाणित भएको छ। 

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओले) कोरोनाइरस हावाबाट पनि फैलन सक्ने स्वीकारेको हो। यो स्वीकारोक्तिसँगै अब कोरोनाबाट बच्नका लागि नयाँ दिशानिर्देश आउन सक्ने अनुमान गरिएको छ । यसअघि डब्ल्यूएचओले कोरोनाभाइरस हावाबाट पनि फैलन्छ भन्नेबारे हालसम्म पर्याप्त जानकारी नभएको बताउँदै आएको थियो ।

डब्ल्यूएचओले यो भाइरस खराब भेन्टिलेसन वा भीडभाडयुक्त बन्द स्थानमा पनि फैलन सक्ने जनाएको छ। ‘जहाँ मानिसहरु लामो समयसम्म बस्छन्, त्यहाँ यो भाइरस फैलिने सम्भावना हुन्छ किनकि एयरोसोल हावामा एक मिटरभन्दा पनि परसम्म जानसक्छ’, डब्ल्यूएचओले भनेको छ।

यसअघि संक्रमित मानिसहरुले हाच्छिउँ गर्दा, खोक्दा वा बोल्दा आफ्नो नाक वा मुखबाट निस्किने थोपा वा छिट्टाबाट मात्रै यो भाइरस फैलिने गरेको बताइएको थियो। अब एयरोसोल हावासँगै निकै टाढासम्म जान सक्ने भएकोले संक्रमण फैलिन सक्ने डब्ल्यूएचओले जनाएको छ। 

यसअघि वैज्ञानिकबीच ड्रपलेट र एयरोसोलको विषयमा मतभेद छ । धेरैजसो वैज्ञानिकले संक्रमितले खोक्दा, हाच्छिउँ गर्दा, गाउँदा, बोल्दा वा मानिसहरुको नाक वा मुखबाट जुन छिट्टा वा थोपा निस्कने ड्रपलेटबाट कोरोनाभाइरस फैलिने तर हावाबाट नफैलिने तर्क गर्दै आएका थिए। 

केही विशेषज्ञहरुले संक्रमित मानिसहरुको मुख र नाकबाट निस्कने छिट्टा हावासँगै बगेर टाढासम्म जान सक्ने र अन्य मानिसहरुमा फैलिन सक्ने बताउँदै आएका थिए। 

अन्ततः डब्ल्यूएचओले हावाबाट कोरोनाभाइरस फैलिन सक्ने प्रमाणित गरेको हो। – एजेन्सी