काठमाण्डौ । अन्तरबैंक ब्याजदर एकैपटक साढे ६ पुगेको छ।
नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार साउन २ गते एकैदिन अन्तरबैंक ब्याजदर ६.५१ प्रतिशत पुगेको थियो। अघिल्ला दिन अर्थात साउन १ गतेसम्म अन्तरबैंक ब्याजदर ०.५३ प्रतिशत रहेको थियो।
बैंकिङ प्रणालीबाट एकैदिन ठूलो परिमाणमा निक्षेप बाहिरिएसँगै अन्तरबैंक ब्याजदर पनि बढेको हो।
साउन २ गते बैंकिङ प्रणालीबाट एकैदिन ८५ अर्ब रुपैयाँ निक्षेप बाहिरिएको थियो। यो दिन बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेप घटेर ५६ खर्ब ५८ अर्ब रुपैयाँमा झरेको छ। अघिल्लो दिन साउन १ गतेसम्म बैंकिङ प्रणालीमा ५७ खर्ब ४३ अर्ब रुपैयाँ थियो।
यो दिन वाणिज्य बैंकहरुको निक्षेप पनि ८१ अर्ब रुपैयाँले घटेको छ। गत साउन १ गतेसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ५० खर्ब ६२ अर्ब रुपैयाँ रहेकोमा साउन २ गतेसम्म घटेर ४९ खर्ब ८१ अर्ब रुपैयाँमा झरेको छ।
स्थानीय तहको खातामा रहेको रकम निक्षेपमा गणना गर्न पाउने व्यवस्था हटेपछि एकैदिन वाणिज्य बैंकहरुबाट यति धेरै रकम बाहिरिएको हो। यसअघि तरलता अभाव भएको समयमा सरकारले सुरुमा स्थानीय तहको खातामा रहेको रकमको ५० प्रतिशत निक्षेपमा गणना गर्न पाउने सुविधा दिएको थियो। पछि उक्त सीमा बढाएर ८० प्रतिशत बनाइएको थियो। यो सुविधा गत असार मसान्तसम्मका लागि मात्र थियो। समय सकिएपछि सुविधाबापत बैंकहरुले गणना गर्दै आएको रकम बाहिरिएको हो।
बैंक तथा वित्तीय संस्थाहरुको कर्जा लगानी भने साउन २ गतेसम्म ७ अर्ब रुपैयाँले घटेर ४८ खर्ब ६७ अर्ब रुपैयाँमा झरेको छ। अघिल्लो दिन साउन १ गतेसम्म कुल कर्जा लगानी ४८ खर्ब ७४ अर्ब रुपैयाँ रहेको थियो।
वाणिज्य बैंकहरुको कर्जा लगानी पनि ६ अर्ब रुपैयाँले घटेर साउन २ गतेसम्म ४३ खर्ब ६ अर्ब रुपैयाँमा झरेको छ। अघिल्लो दिनसम्म कुल कर्जा लगानी ४३ खर्ब १२ अर्ब रुपैयाँ थियो।
साउन २ गतेसम्म बैंकहरुको औसत सीडी रेसियो बढेर ८२.९९ प्रतिशत कायम भएको थियो। अघिल्लो दिनसम्म सीडी रेसियो ८१.९१ प्रतिशत थियो।
32 minutes ago
41 minutes ago
46 minutes ago
1 hour ago
11 hours ago
11 hours ago
11 hours ago
11 hours ago
11 hours ago
11 hours ago