काठमाण्डौ । करिब ५ महिनाअघि भएको सम्झौतालाई रद्ध गरेसँगै सनराइज बैंक लिमीटेडले सिर्जना फाइनान्सलाई प्राप्ति गर्ने प्रक्रिया भाँडिएको छ । 

सनराइज बैंक लिमीटेडले धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेञ्ज लिमीटेड लगायतलाई पत्र लेख्दै सिर्जना फाइनान्सलाई प्राप्तिका लागि भएको सम्झौता रद्ध भएको जानकारी गराएसँगै यी दुई संस्थाबीचको गाभ्ने तथा गाभिने प्रक्रिया भाँडिएको हो । 

सनराइज बैंकको जेठ २९ गते बसेको संचालक समितिको ३४५ औं बैठकले सिर्जना फाइनान्सलाई प्राप्ति गर्ने सम्बन्धी कार्य रद्ध गर्ने निर्णय गरेको प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले जानकारी दिएका छन् । 

सनराइज बैंकले सिर्जना फाइनान्सलाई प्राप्ति गर्ने विषयमा गत माघ ८ गते सैद्धान्तिक सहमति भएको थियो । मर्जरको काम अन्तिम अवस्था पुगेको समयमा एकाएक भाँडिएको हो । 

त्यसबेलाको सहमति अनुसार सम्पत्ति तथा दायित्व मूल्याङ्कन गर्न विषेशज्ञलाई तत्काल नियुक्त गरी सोको प्रतिवेदन प्राप्त भएपछि संयुक्त समितिमा छलफल गरी समितिले सिफारिश गरेको प्रतिशेयर मूल्यलाई दुवै पक्षको संचालक समितिले स्वीकृत गरी साधारणसभाबाट स्वीकृति भए बमोजिम सिर्जना फाइनान्स लिमिटेडका विद्यमान शेयरधनीहरुलाई निजहरुले धारण गरेको शेयरबापत स्वीकृत अनुपात अनुसार सनराइज बैंक लिमिटेडको शेयर दिइने भनिएको थियो । 

अन्तिम अवस्थामा सेयर स्वाप रेसियो र कर्मचारी समायोजनको विषयमा कुरा नमिल्दा प्राप्तिको प्रक्रिया रद्ध भएको स्रोतले दाबी गरेको छ ।