काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघको सबैभन्दा आकर्षक पद वरिष्ठ उपाध्यक्षतर्फको ताजा मत परिणाम प्राप्त भएको छ । 

जसअनुसार वस्तुगततर्फ वरिष्ठ उपाध्यक्षका लागि खसेको मत गणना सकिएको छ । जसअनुसार चन्द्र ढकालले ५९ मत प्राप्त गरेका छन् भने किशोर प्रधानले ३९ मत प्राप्त गरेका छन् । यसरी वस्तुगतमा चन्द्र ढकालले कुल खसेको मतको ५८.४१ प्रतिशत, किशोर प्रधानले ३८.६१ प्रतिशत मत प्राप्त गरेका छन् ।

वस्तुगतर्फ १०१ मत खसेको थियो । जसमध्ये ३ मत बद्धर भएको थियो । यो समूहतर्फको मतभार २० प्रतिशत रहेको छ । 

यसअघि एशोसिएटतर्फबाट वरिष्ठ उपाध्यक्षका लागि खसेको मतगणना गरिएको थियो । जसअनुसार वरिष्ठ उपाध्यक्ष पदका उम्मेद्वार चन्द्र ढकालले ५२२ मतसहित अग्रता लिएका छन् । 

उनका प्रत्यासी किशोरकुमार प्रधानले ३७४ मत पाएका छन् । 

एशोसिएटतर्फ खसेको कुल ८९९ मतमध्ये २ मत बद्धर भएको थियो । यसतर्फको मतभार ३० प्रतिशत हो । 

अब  जिल्लातर्फको मतगणना बाँकी छ । जिल्लानगरतर्फको मतभार ५० प्रतिशत हो । 

यसअघि एशोसिएटतर्फको उपाध्यक्षमा चन्द्रप्रसाद ढकाल प्यानलका रामचन्द्र संघाई विजयी भएका थिए । यस्तै, जिल्लानगरतर्फ प्रधान प्यानलका दिनेश श्रेष्ठ र वस्तुगततर्फ पनि प्रधान प्यानलकै अञ्जन श्रेष्ठ विजयी भइसकेका छन्। 

जिल्लानगरबाट कार्यसमिति सदस्यमा प्रधान समूहका बहुसंख्यक उम्मेद्वार विजयी भएका छन् । वस्तुगततर्फ दुवै पक्षका बराबर सदस्य निर्वाचित भएका छन् ।