काठमाण्डौ । अपर तामाकोशी हाइड्रोपावर लिमीटेडले १ बराबर १ को दरले हकप्रद सेयर जारी गर्ने भएको छ । 

कम्पनीको आज बसेको सञ्चालक समितिको २५७ औं बैठकले हालको चुक्तापूँजीको १ बराबर १ को अनुपातमा हकप्रद सेयर निश्कासनका लागि कम्पनीको आगामी १४ औं वार्षिक साधारणसभामा स्वीकृतिका लागि प्रस्ताव पेश गर्ने निर्णय भएको प्रमुख कार्यकारी अधिकृत विज्ञानप्रसाद श्रेष्ठले जानकारी दिए । 

विद्युत नियमन आयोगबाट स्वीकृत भई कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि मात्र हकप्रद सेयर निश्कासन हुनेछ। 

हाल यो कम्पनीको चुक्तापूँजी १० अर्ब ५९ करोड रहेको छ । 

अपर तामाकोशीमा नेपाल विद्युत प्राधिकरण, कर्मचारी सञ्चयकोष, नेपाल टेलिकम, नागरिक लगानीकोष र राष्टिय बिमा संस्थानको ठूलो लगानी छ । 
कम्पनीमा ५१ प्रतिशत सेयर हिस्सा नेपाल विद्युत प्राधिकरण, नेपाल टेलिकम, नागरिक लगानी कोष र राष्टिय बीमा संस्थानको रहेको छ । यसमध्ये विद्युत प्राधिकरणको ४१ प्रतिशत, टेलिकमको ६ तथा नागरिक लगानी कोष र बीमा संस्थानको २ २ प्रतिशत लगानी छ । 

सर्वसाधारणको यो कम्पनीमा १५ प्रतिशत लगानी छ भने दोलखाका आयोजना प्रभावितको १० प्रतिशत लगानी छ । 

बाँकी रहेको २४ प्रतिशत सेयर चाहिँ कर्मचारी सञ्चयकोषका योगदानकर्ता, विद्युत प्राधिकरण र अपर तामाकोशीका कर्मचारी तथा यो आयोजनामा ऋण प्रवाह गर्ने वित्तीय संस्थाका कर्मचारीहरुसँग छ ।