काठमाण्डौ। दुई आर्थिक वर्षको लाभांश पारित गर्ने मुख्य प्रस्तावसहित अपि पावर कम्पनी लिमिटेडले वार्षिक साधारणसभा डाकेको छ।

कम्पनीले आउँदो मंसिर ८ गते काठमाण्डौको थापाथलीस्थित ट्रेड टावरमा रहेको प्रधान कार्यालयमा भर्चुअल माध्यम जुम एपबाट १६ औँ र १७ औँ वार्षिक साधारणसभा गर्ने भएको हो। सभाले आर्थिक वर्ष २०७५/७६ को खुद मुनाफाबाट चुक्तापुँजीको ५ प्रतिशतका दरले बोनस सेयर र आर्थिक वर्ष २०७६/७७ को खुद मुनाफाबाट चुक्ता पुँजीको ९ प्रतिशत गरी कुल १४ प्रतिशत बोनस सेयर वितरण गर्ने विशेष प्रस्ताव अनुमोदन गर्नेछ। 

यसैगरी सभाले आर्थिक वर्ष २०७५/७६ को बोनस सेयरको कर प्रयोजनका लागि ०.२६ प्रतिशत र आव २०७६/७७ को बोनस सेयरको कर प्रयोजनका लागि ०.४७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि पारित गर्नेछ। 

दुवै आर्थिक वर्षको बोनस सेयर तथा ५६.७ करोडको हकप्रद सेयर निष्काशनपश्चात कायम हुने चुक्ता पुँजीको १ः०.८५६ कित्ताका दरले हकप्रद सेयर निष्कासन गर्न स्वीकृति पनि सभाले दिनेछ।

कम्पनीले १६ औँ वार्षिक साधारण सभा प्रयोजनार्थ २०७६ चैत १ गतेदेखि चैत्र ७ गतेसम्म बुक क्लोज गरिसकेको छ। यसको अर्थ चैत १ गतेभन्दा अघिल्लो दिनसम्म कायम सेयरधनीहरुले आव २०७५/७६ को बोनस सेयर प्राप्त गर्न योग्य हुनेछन्। 

यसैगरी कम्पनीले १७ औँ वार्षिक साधारणसभा प्रयोजनार्थ यही मंसिर १ गतेदेखि ७ गतेसम्म बुक क्लोज गर्ने भएको छ। यसको मतलब मंसिर १ गतेको अघिल्लो दिनसम्म कायम सेयरधनीहरु तथा १६ औँ वार्षिक साधारण सभामा प्रस्तावित ५ प्रतिशतका दरले लाभांश प्राप्त गर्ने शेयरधनीहरुले समेत आव २०७६/७७ को लाभांश प्राप्त गर्नेछन्।