काठमाण्डौ । अपी पावर कम्पनी लिमिटेडले करिब साढे ४ लाख कित्ता सेयर लिलामीमा बिक्री गरिने भएको छ। 

अपी पावरले ४ लाख ४९ हजार ३२८ कित्ता सेयर यही जेठ १८ गतेबाट लिलामीमा राखिने भएको हो। गत चैत २५ गतेदेखि वैशाख १५ गतेसम्म सेयरधनीहरुलाई निष्कासनको गरिएको हकप्रदमा बिक्री नभएको सेयर लिलामीमा राख्न लागिएको हो। 

यो लिलामी सेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ। लगानीकर्ताले बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ। 

यो लिलामी सेयरमा इच्छुक जोकोही व्यक्ति कम्पनी तथा संघसंस्थाले बोलपत्र पेस गर्न सक्नेछन्। बोलपत्र पेस गर्दा न्यूनतम १०० कित्ताका लागि आवेदन दिनुपर्नेछ। अधिकतम सेयर संख्याका लागि कुनै हद लाग्ने छैन। 

बोलपत्र काठमाण्डौको थापाथलीस्थित अपी पावरको कार्यालय, काठमाण्डौको नक्सालस्थित मुक्तिनाथ क्यापिटलको कार्यालय तथा मुक्तिनाथ विकास बैंकका शाखाहरु ठिमी, कुमारीपाटी, इटहरी, इलाम, पोखरा, बुटवल, विराटनगर, वीरगन्ज, नारायणगढ, सुर्खेत, नेपालगन्ज, धनगढी र जनकपुरमा पेस गर्न सकिनेछ। बोलपत्र यही जेठ २६ गतेसम्म बुझाउनुपर्नेछ।