काठमाण्डौ । अपी पावर कम्पनी लिमीटेडले प्रस्ताव गरेको २०० प्रतिशत हकप्रद सेयरलाई इक्रा नेपालले औसत भन्दा कमजोर आधार जनाउने ग्रेड फोरको रेटिङ प्रदान गरेको छ । 

कम्पनीले अपी पावरले जारी गर्न लागेको रु. २ अर्ब २६ करोड ८० लाखको हकप्रद निश्कासनलाई औसत भन्दा तल आधारहरु जनाउने ग्रेड दिएको हो । इक्रा नेपालले १ देखि ५ प्वाइन्ट स्केलमा ग्रेडिङ्ग प्रदान गर्दछ । जसमा ग्रेड १ ले बलियो आधारहरु जनाउँछ भने गे्रड ५ ले कमजोर आधारहरु जनाउँछ । ग्रेड २, ३ र ४ मा प्रयोग गरिने प्लस चिन्हले त्यस समूहका तुलनात्मक सकारात्मक स्थितिलाई जनाउँदछ ।

यो कम्पनीले करिब एक महिनाअघि २०० प्रतिशत हकप्रद निश्कासनको माग गर्दै धितोपत्र बोर्डमा पुगिसकेको छ । अपी पावरको पुस २४ गते सम्पन्न १५ औं साधारणसभाले समेत २०० प्रतिशत हकप्रद सेयर निश्कासनका प्रस्तावलाई पारित गरिसकेको छ ।

यो कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल २ करोड २६ लाख ८० हजार कित्ता हकप्रद निश्कासनको माग गर्दै पुस ४ गते नै बोर्डमा आवेदन दिएको हो । 

कम्पनीको हकप्रद निश्कासन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमीटेड रहेको छ । 

प्रस्तावित हकप्रद निश्कासनपछि कम्पनीको चुक्तापूँजी ३ अर्ब ३९ करोड माथि पुग्नेछ ।

यो कम्पनीको दोश्रो बजारमा अन्तिम सेयर बिक्री मूल्य प्रतिकित्ता रु. १३७ रहेको छ । 

अपि पावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा अघिल्लो आ.व.को यही त्रैमासको तुलनामा ८३ प्रतिशतले मुनाफामा वृद्धि गरेको छ । 

कम्पनीले अघिल्लो आ.व को सोही त्रैमासको तुलनामा विद्युत विक्रीबाट ४७ प्रतिशत बढी आम्दानी गर्न सफल बनेको छ । 

अत्तरिया बलाँच १३२ के.भि. ट्रान्समिसन लाईन संचालनमा आएपछि विद्युत विक्रीबाट आम्दानी बढेको कम्पनीले जनाएको छ ।

कम्पनीले निर्माण सम्पन्न गरेको ८.५ मे.वा. क्षमताको नौगड गाढ जलविद्युत आयोजना विगत ३ वर्ष देखी नाफामा संचालन भईरहेको र कम्पनीले निर्माण गरिरहेको ८ मे.वा. क्षमताको अप्पर नौगड गाढ जलविद्युत आयोजना अन्तिम चरणमा पुगेको पनि कम्पनीले जनाएको छ । 

साथै कम्पनीले प्रबद्र्धन तथा विकास गरेको माथिल्लो चमेलिया जलविद्युत आयोजनाको विद्युत खरिदबिक्री सम्झौताको मस्यौदामा हस्ताक्षर गरेको पनि कम्पनीले जनाएको छ । 

कम्पनीले विकास गरेको १८ मे.वा. आयोजनामध्ये १४ मे.वा. क्षमताका ४ वटा सोलार आयोजनाहरुको विद्युत खरिदबिक्री सम्झौता सम्पन्न गरिसकेको छ र सोलार आयोजना निर्माणका लागि भारतको जनरल इलेक्टिक कम्पनीसँग सोलार प्यानलहरु, इनभर्टर तथा अन्य आवश्यक सामानहरु खरिद गर्ने सम्झौता पनि सम्पन्न भइसकेको कम्पनीले जनाएको छ । 

कम्पनीले १ः२ बराबरको हकप्रद शेयर जारी गरी शोलार आयोजनाहरु, माथिल्लो चमेलिया जलविद्युत आयोजना तथा सिद्धकाली पावर लि.ले निर्माण गर्ने त्रिशुली गल्छी जलविद्युत आयोजनामा लगानी गर्ने जनाएको छ।