काठमाण्डौ । अपी पावर कम्पनी लिमिटेडले निष्कासन गरेको हकप्रद सेयरमा आवेदन दिन आज अन्तिम दिन रहेको छ।

कम्पनीले गत कात्तिक १४ गतेदेखि सेयरधनीहरुका लागि १ः०.४७ को अनुपातमा प्रतिसेयर १०० रुपैयाँ अंकित दरका ५६ लाख ७० हजार कित्ता हकप्रद सेयरधनीहरुका लागि निष्कासन गरेको छ। कम्पनीले गत वर्ष फागुन १२ गते नेपाल धितोपत्र बोर्डबाट हकप्रद निष्कासनको अनुमति पाएको थियो।

हकप्रद बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ। सिद्धार्थ क्यापिटलसँगै कम्पनीको काठमाण्डौको थापाथलीस्थित कार्यालय, सिद्धार्थ बैंकको विराटनगर, वीरगन्ज, पोखरा , बुटवल, नेपालगन्ज, धनगढी र सुर्खेतका साथै ग्लोबल आइएमई बैंक लिमिटेड शाखा कार्यालयहरु गोकुेलेश्वर, नौंगाड, खलंगा र बैतडीबाट आवेदन दिन सकिनेछ।

यसैगरी सि–आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्थाको शाखाकार्यलय र सीडीएससीको मेरो सेयरमार्फत पनि आवेदन दिन सकिने व्यवस्था छ। 

कम्पनीले हकप्रद निष्कासन र साधारणसभा प्रयोजनका लागि चैत १ गते बुक क्लोज गरेको थियो। यसको मतलब गत फागुन ३० गतेसम्म कायम सेयरधनीहरुले मात्र हकप्रदमा आवेदन दिन योग्य हुनेछन्।

कम्पनीको यो हकप्रदलाई इक्रा नेपालले औसतभन्दा तलको आधार संकेत गर्ने इक्रा एनपी आईपीओ ग्रेड ४ को रेटिङ प्रदान गरेको छ।

हाल कम्पनीको चुक्तापुँजी १ अर्ब १९ करोड ७ लाख रुपैयाँ रहेको छ। हकप्रद बिक्रीपश्चात कम्पनीको चुक्तापुँजी १ अर्ब ७५ करोड ७७ लाख रुपैयाँ पुग्नेछ।