काठमाण्डौ । अपी पावर कम्पनी लिमिटेडले करिब साढे १३ लाख कित्ता सेयर आउँदो पुस ६ गतेबाट लिलामीमार्फत बिक्री गर्ने भएको छ।

कम्पनीले गत कात्तिक १४ गतेदेखि मंसिर ४ गतेसम्म निष्कासन गरेको हकप्रद बिक्री नभएका १३ लाख ४६ हजार २१८ कित्ता सेयर लिलामीमा राखिने भएको हो। 

कम्पनीले १ः०.४७ अनुपातमा हकप्रद जारी गरेको छ। जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका ६५ लाख ७० हजार कित्ता हकप्रद सेयरधनीहरुका लागि निष्कासन गरेको थियो। तर मंसिर ४ गतेसम्म ४३ लाख २३ हजार ७८२ कित्ताका लागि मात्र खरिद आवेदन पर्यो । जसका कारण बाँकी रहेका १३ लाख ४६ हजार २१८ कित्ता अवितरित हकप्रद सेयर लिलामीमा राख्नुपर्ने भएको हो।

यो हकप्रदको बाँडफाँड गत मंसिर २१ गते गरिएको थियो।

लिलामीमा राखिएको सेयर खरिदका लागि योग्य इच्छुक व्यक्ति, कम्पनी तथा संघसंस्थाले बोलपत्र पेस गर्न सक्नेछन्। 

लिलामी सेयरको प्रतिकित्ता न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ। लगानीकर्ताहरुले न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गरी बोलपत्र पेस गर्नुपर्नेछ। 

लगानीकर्ताहरुले न्यूनतम १०० कित्ता र अधिकतममा १० अंकले भाग जाने संख्या वा सम्पूर्ण १३ लाख ४६ हजार २१८ कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। 

धितोपत्र बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताहरुले क्यापिटलको काठमाण्डौ नक्सालस्थित कार्यालय वा सिद्धार्थ बैंकका शाखा कार्यालयहरु विराटनगर, बिर्तामोड, वीरगन्ज, जनकपुर, हेटौँडा, नारायणगढ, पोखरा, बागलुङ, बुटवल, घोराही, नेपालगन्ज, सुर्खेत, धनगढी र महेन्द्रनगरमा पनि बोलपत्र पेस गर्न सक्नेछन्।

बोलपत्र पेस गर्ने अन्तिम मिति पुस १३ गते बैंकिङ समयसम्म तोकिएको छ।