काठमाण्डौ । अपी पावर कम्पनी लिमिटेडले अवितरित २ लाख बढी कित्ता हकप्रद सेयर साउन १३ गतेबाट लिलामीमा राख्ने भएको छ। 

कम्पनीले गत जेठ २० गतेदेखि असार १३ गतेसम्म हकप्रद निष्कासन गरेको थियो। जसमा बिक्री नभएको २ लाख १५ हजार ५९९ कित्ता सेयर कम्पनीले लिलामीमार्फत बेच्न लागेको हो। 

लिलामीमा राखिने सेयरमा इच्छुक जोकाही व्यक्ति, कम्पनी, संघ र संस्थाले बोलपत्र पेस गर्न सक्नेछन्। लगानीकर्ताले न्यूनतम १०० कित्ताका लागि बोलपत्र पेस गर्नुपर्नेछ। अधिकतमका लागि भने कुनै हद लाग्ने छैन।

लिलामीमा राखिने सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ। लगानीकर्ताले बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ। 

बोलपत्र धितोपत्र बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेडको काठमाण्डौको कमलादी हात्तीसारस्थित प्रधान कार्यालय वा मुक्तिनाथ विकास बैंकका शाखा कार्यालयहरु थिमी (भक्तपुर), कुमारीपाटी (ललितपुर), इटहरी (सुनसरी), इलाम, पृथ्वीचोक (पोखरा), बुटवल, विराटनगर, वीरगनज, नारायणगढ, सुर्खेत, नेपालगन्ज, धनगढी र जनकपुरमा पेस गर्न सकिनेछ।

बोलपत्र साउन २० गते बैंकिङ समयसम्म पेस गर्न सकिनेछ।