– अर्जुन तिमिल्सिना
काठमाण्डौ। बहुप्रतिक्षित माथिल्लो तामाकोशी जलविद्युत आयोजनाबाट उत्पादित बिजुली आगामी आइतबारदेखि राष्ट्रिय प्रसारण लाइनमा जोडिने भएको छ।
दोलखा जिल्लाको बिगु गाउँपालिका–१ मा निर्माणाधीन कुल ४५६ मेगावटको यो आयोजनाको हाल ७६ मेगावट विद्युतमात्रै यो साताभित्र भौतिक कार्य सम्पन्न गरी राष्ट्रिय प्रसारण लाइनमा जोडिने भएको हो। हाल सुरुङ निर्माण तथा पहिलो युनिटको मेकिनिकल र इलेक्ट्रिकल कार्यको परीक्षण सफल भएको आयोजनाले जनाएको छ।
२०६७/६८ बाट निर्माण सुरु भएको यो आयोजना २०७३/७४ मा ३५ अर्ब रुपैयाँको लागतमा सम्पन्न गर्ने लक्ष्य राखिएको थियो। तर भूकम्प, नाकाबन्दी तथा कोभिड–१९ महामारीको प्रभावका कारण निर्माणकार्य सम्पन्न गर्न ढिलो भएको आयोजनाले जनाएको छ। योसँगै आयोजनाको लागत पनि बढेर ब्याजसहित दोब्बरभन्दा बढी ८० अर्ब रुपैयाँ पुगेको छ।
आयोजनामा सर्वसाधारणको ४९ प्रतिशत र संस्थापकको ५१ प्रतिशत लगानी रहेको छ। यो आयोजनाको पीपीए दर ४।०६ रुपैयाँको हाराहारीमा रहेको छ।
आयोजनाका प्रवक्ता गणेश न्यौपानेका अनुसार यो साता बिहीबारसम्म केही बाँकी रहेका भौतिक कार्य सम्पन्न गरी आगामी आइतबार पहिलो युनिटको उत्पादन राष्ट्रिय प्रसारण लाइनमा जोडिनेछ। बाँकी रहेका ५ वटा युनिटमध्ये देस्रो युनिटबाट उत्पादित विद्युत असार मसान्तसम्म र अन्य सबै युनिटबाट उत्पादित विद्युत भदौसम्म राष्ट्रिय प्रसारण लाइनमा जोडिसकिने न्यौपानेले जानकारी दिए।
यसैबीच यो कम्पनीमा लगानी गर्ने सर्वसाधारणले भने आयोजनाबाट विद्युत उत्पादन सुरु हुन लागेसँगै लाभांश पाउने आशा बढेको बताएका छन्।
आयोजनाका वित्त प्रमुख सुरेश खकुरेलले हाल आयोजनाको दीर्घकालीन ऋण ४१ अर्ब रुपैयाँ र अल्पकालीन ऋण ४ अर्ब रुपैयाँ रहेको बताए। ‘सबै युनिटबाट उत्पादित विद्युत राष्ट्रिय जोडिएपछि कम्पनीले वार्षिक ९ अर्ब २५ करोड रुपैयाँ आम्दानी गर्नेछ’, उनले भने, ‘रोल्वालिङ पनि जोड्दा त १२ अर्ब वार्षिक आम्दानी हुन्छ। कम्पनीले ऋण पनि भुक्तानी गर्दै जाने हुनाले १–२ वर्षमा अवस्था कठिन छ। थप पुँजी जुटाउन हकप्रद जारी गर्न पनि अझै ३ वर्ष सम्भव छैन। तर आगामी वर्ष नबिल बैंकबाट लिएको ऋणमा १ प्रतिशतसम्म कम गर्न सकियो र अहिले १० वर्षका लागि लिएको ऋण भुक्तानी समय बढाएर १५ वर्ष बनाउन सकियो भने सर्वसाधारणलाई १० प्रतिशतसम्म सुरुको वर्ष लाभांश दिन सकिन्छ कि भन्ने सोचमा छौँ।’
खकुरेलले सर्वसाधारण लगानीकर्ताको हित र आकांक्षालाई ध्यानमा राख्दै कम्पनीले आगामी वार्षिक साधारणसभामा सकेसम्म हात खाली नगर्ने बताए।
16 minutes ago
1 hour ago
1 hour ago
1 hour ago
1 hour ago
2 hours ago
2 hours ago
3 hours ago
3 hours ago
4 hours ago